१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

विजयनगरको बजेट ५१ करोड हाराहारीमा, विपदमा २४ सै घण्टा ‘अलर्ट’



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले असार १० गते बजेट ल्याउने भएको छ । बिभिन्न क्षेत्रका सरोकारवालाबाट सुझाव संकलन गरी आर्थिक बर्ष २०७८ । ०७९ को बार्षिक नीति र कार्यक्रम पारित गर्ने तयारी गरिरहेको गाउँपालिकाले गत बर्षकै हारहारीमा बजेट ल्याउने तयारी गरेको हो । यस बर्ष पालिकाले ५१ करोडको बजेट ल्याउने तयारी गरेको छ ।

सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको बुधबार विहान प्रशारण भएको कार्यक्रम समय संवादसंग कुरा गर्दै गाउँपालिका अध्यक्ष थापाले बजेट र नीति कार्यक्रमबारे जानकारी गराउनु भएको हो ।

यस बर्षको बजेटमा शिक्षा र स्वास्थ्य क्षेत्र बढी प्राथमिकतामा परेका छन् । गाउँपालिकाले शिक्षाको पारिलो घामबाट कोही कुनै बालबालिका बञ्चित नओऊन् भनेर ‘बालिकालाई पढाउ र बढाउ’ नीति अवलम्बन गरेको अध्यक्ष थापाले बताउनु भयो । आगामी बजेटमा कृषि, पशुपालन, खानेपानी, अपाङ्गता र गरिवी निवारण, रोजगारी सिर्जना लगायतका कुराहरु प्राथमिकतामा पर्ने उहाँले बताउनु भयो ।

यसैबीच उहाँले सोही कार्यक्रममार्फत् विपद् र बाढी पहिरोको जोखिम र हुनसक्ने घटनामाथि २४ सै घण्डा ‘अलर्ट’ रहको बताउनु भएको छ । देशभर बाढी पहिरोको वितण्डा मच्चिएको र पारेको जनधनको क्षतिले आफूलाई पनि दुखि बनाएको भन्दै गाउँपालिकाबासीलाई यस्ता जोखिमबाट जोगाउन सबै संयन्त्र प्रयोग गरिने थापाले बताउनु भयो ।

‘जोखिम क्षेत्र पहिचान गरी उनीहरुलाई सतर्क रहन आग्रह गरिएको छ । नगरको वैठक बसेरै यसमा ध्यान दिन भनिएको छ । विपद्मा चाहिने सामग्री जुटाइएको छ । सुरक्षाकर्मीलाई पनि तम्तयार हुन भनिएको छ’ समय संवाद कार्यक्रममा उहाँले भन्नुभयो । उहाँले खोला नाला र डुवानबाट कुनै नगरबासीले क्षति नब्यहोर्ने र त्यस्तो भै परिहाले उचित राहतको ब्यवस्था गरिने प्रतिवद्धता जनाउनु भयो ।

प्रकाशित मिति : ३ असार २०७८ बिहिबार ००:००  ७ : ४५ बजे