मायादेवी अनलाइन, चारनम्बर ।
नेकपा (एमाले) का नेता तथा लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले नेकपा (एमाले) फुटाउने नभइ जुटाउने अभियानमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । ओली र माधव समूह भएर पार्टी फुटको संघारमा पुगेको बेला एमालेका दुवै तर्फका साइबर योद्धाको नाम दिदैं सांसद पन्थीले पार्टी एकतामा जोड दिन आग्रह गर्नुभएको हो ।
विहीबार विहान सांसद पन्थीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘दुबै तर्फका उर्जाशिल साइबर योद्धाहरु आफ्नो उर्जालाई फुटाउने तर्फ होइन जुटाउनेमा लगाउनु, नत्र पछि आफैले आफ्नै बिगत सम्झेर पछुतो मान्नुपर्ने छ । संस्थाहरु जति साना र सागुरा हुन्छन् त्यति समस्याग्रस्त हुन्छन्, पार्टी संस्था जति ठुला र फराकिलो हुन्छन् तीनको संचालनमा त्यति बढी बिधि र प्रक्रियाको खाँचो पर्छ ।’
पूर्व प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारत जादैं गर्दा बुधबार सार्वजनिक भएको वक्तव्य लगत्तै विहीबार विहान आएको संसाद पन्थीको यो भनाईलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
वरिष्ठ नेता खनालले आ-आफ्ना अहंकार र दम्भ त्यागेर पार्टीलाई एकतावद्ध गर्न जोड दिनुभएको थियो । यद्यपि नेता खनालको विज्ञप्तिलाई लिएर माधव समूहका नेताहरुले आशंका व्यक्त गरेका छन् । नेता खनालको विज्ञप्तिमा जालझेल र षडयन्त्र भएको एमालेका प्रभावशाली युवा नेताहरु विजय पौडेल र जगन्नाथ खतिवडाले बताउनुभएको छ ।
सामाजिक सञ्जालमा सांसद पन्थीले तत्कालिन एमाले फुटेर माले भएको एतिहासको स्मरण गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘एमाले बिभाजन हुँदा माधब नेपाल, झलनाथ र केपी ओलीले एमाले र बामदेव गौतम, सीपी मैनाली अनि अशोक राई, आरके मैनाली आदि भएर माले गरी दुई पार्टी बने तर तत्कालै ती दुबै समूह भित्र ३ महिनामा नयाँ नयाँ समुह जन्मेका थिए । यता एमालेमा नेपाल र ओली समूह र उता मालेमा गौतम र मैनाली समूहमा बिभाजित भए र अन्ततः सीपीको अलग्गै निजि पार्टी बन्यो । जुन अहिले पनि निर्वाचन आयोगमा दर्ता कायमै छ । एमाले भित्रको नेपाल ओली गुटको चरम गुटबन्दी भने बामदेवको माले पुन एमालेमा फर्केसंगै मत्थर भइ पुन बिभाजन रोकिएको थियोे । एक अर्का लाई सिध्याउन हिडेका/लागेका माले एमाले आफै भित्र पुन गुटको सिकार भएको दृष्टान्त लाई स्मरण गरौ । दुबै तर्फका उर्जाशिल साइबर योद्धाहरु आफ्नो उर्जालाई फुटाउने तर्फ होइन जुटाउनेमा लगाउनु नत्र पछि आफैले आफ्नै बिगत संझेर पछुतो मान्नुपर्ने छ । संस्थाहरु जति साना र सागुरा हुन्छन् त्यति समस्याग्रस्त हुन्छन्, पार्टी संस्था जति ठुला र फराकिलो हुन्छन् तीनको संचालनमा त्यति बढी बिधि र प्रक्रियाको खाचो पर्छ ।’
सांसद पन्थी एमालेको माधव समूह तिर हुनुहुन्छ ।
प्रतिक्रिया