१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बाढी, पहिरो र डुवानको कहरमा लुम्बिनी प्रदेश, कहाँ के भयो ?



मायादेवी अनलाइन, समाचार डेस्क ।
विगत चार दिन देखि परेको अविरल बर्षाको कारण लुम्बिनी प्रदेश पनि प्रभावित बनेको छ । प्रदेशका १२ जिल्ला मध्ये कतिपय जिल्ला बाढीको जोखिममा परेका छन् भने कतिपय जिल्लामा पहिरो जादा जनधनको क्षति भएको छ । तराईका अधिकांश क्षेत्र डुबानको चपेटामा परेका छन् । प्राप्त विवरण अनुसार प्रदेशका विभिन्न राष्ट्रिय, क्षेत्रिय तथा स्थानीय सडकमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् ।

कुन जिल्लामा के भयो ?

मुख्य सडक अबरुद्ध
लगातारको वर्षाका कारण लुम्बिनी प्रदेशका मुख्यसहित पहाडी सडकहरु अवरुद्ध भएका छन् । लुम्बिनी प्रदेशमा पूर्वपश्चिम राजमार्ग मंगलबार बिहानदेखि नै अवरुद्ध छ भने सिद्धार्थ राजमार्ग मंगलबार रातीदेखि अवरुद्ध छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल–नारायणगढ सडकखण्ड विस्तारका क्रममा रुपन्देहीको देवदह चरंगेमा पूल निर्माणका लागि बनाइएको वैकल्पिक सडक र कल्भर्ट बाढीले बगाएको छ ।

जसका कारण पूर्वपश्चिम राजमार्गको बुटवल–देवदह खण्डमा गाडी चल्न सकेका छैनन् । मालवाहक गाडीको लामो लाइन लागेको छ ।मंगलबार नै सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्ड अवरुद्ध भएको छ । सो सडक खण्डका विभिन्न ठाउँमा पहिरो झरेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–५ कालीमाटीमा मंगलवार साँझदेखि खसेको पहिरोले बाटो रोकेको छ भने पाल्पाको तानसेन–८ गौडेपुलमा बाढीले सडक बगाएको छ ।

डुम्रे खोलाको बाढी र सडकमाथिबाट खसेको पहिरोले सडक जगैबाट बगाएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार वर्षाका कारण सो सडक सूचारु गर्नसकिने अवस्था छैन । सडक जगैबाट बगाएको र पहिरो खस्ने क्रम नरोकिएकाले सडक सूचारु गर्न अरु केही समय लाग्ने उहाँले बताउनुभयो ।

यस्तै पाल्पाकै रिब्दीकोट गाउँपालिका–३ हार्थोकमा पनि पहिरो खसेपछि गुल्मी र अर्घाखाँचीको पूर्वी भेगबाट पाल्पा–बुटवलका लागि आउनेजाने गाडी बाटोमै अलपत्र परेका छन् ।

तानसेन–५ जरेपिपलमा पनि पहिरो खसेको छ । पाल्पाको राम्दीमै पहिरो खस्दा स्याङ्जा, वालिङ, पोखरा सडक पनि अवरुद्ध छ । पाल्पाको आर्यभञ्जाङ–रामपुर सडक पनि अवरुद्ध छ । कपिलवस्तुको गोरुसिङ्गे, अर्घाखाँचीको सन्धिखर्क सडक पनि अवरुद्ध छ ।

प्युठान–भालुवाङ सडकको खहरे खोलामा पहिरो खस्दा सडक खण्ड पनि अवरुद्ध भएको डीएसपी पाण्डेले जानकारी दिनुभयो । अरु धेरै पहाडी सडकहरु अवरुद्ध भएको हुनसक्ने र भारी वर्षा भएका कारण पहिरो खस्ने सम्भावना रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न उहाँले सुझाव दिनुभयो ।

लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रका अधिकांश कच्ची सडकहरु बन्द भएपनि आधिकारिक सूचना आइनपुगेको उहाँले बताउनुभयो ।

राप्ती नदीमा फसेका चार जनाको सकुशल उद्धार
दाङ देउखुरीको राप्ती नदीमा आएको बाढीका कारण वेला घाटमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेना, नेपाल सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा वेला घाटमा फसेकाहरुको सकुशल उद्धार गरिएको हो । लमही नगरपालिका–७ हस्नापुर ४८ निवासी मन्साराम चौधरी, राजपुर गाउँपालिका–२ का ४५ वर्षीया सावित्रा, त्यही ठाउँ निवासी २६ वर्षीय राधे यादव, राजपुर गाउँपालिका–३ प्रतापपुर निवासी २६ वर्षीय गणेश यादवको झण्डै १२ घण्टापछि सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी नीरिक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।

प्युठानमा एक जनालाई बाढीले बगायो
लगातार परिरहेको पानीका कारण आएको बाढीले प्युठानमा एक जनालाई बगाएको छ । मल्लरानी गाउँपालिका–३ धरमपानी, बर्बोटका ४५ वर्षीय हिराबहादुर नेपाली बेपत्ता भएको प्रहरीले जनाएको छ । चुजाठाटी प्रहरी चौकीका इन्चार्ज रामबहादुर रानाका अनुसार मंगलबार साँझ घर फर्कने क्रममा नेपालीलाई खोलाले बगाएको हो । बेपत्ता नेपालीको बिहानसम्म पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कपिलवस्तुमा बाढीले वनगाई–कोपवा जोड्ने कजवे भत्कायो
अविरल वर्षासंगै आएको बाढीले कपिलवस्तुको वनगाई–कोपवा जोड्ने कजवे भत्किएको छ । वाणगंगा नगरपालिका ७ खुटेनीमा रहेको कजवे बुधवार दिउँसो ३ बजे भत्किएको स्थानीयले बताएका छन् ।

कजवे भत्किने बेला त्यहाँ कोही नभएको कारण मानवीय क्षती भने हुन पाएन् । वनगाई–कोपवा जोड्ने उक्त कजवे भत्किएसंगै वनगाई–कोपवा सम्पर्क विच्छेद भएको छ ।

अविरल वर्षासंगै आएको बाढीले कजवे भत्काएपछि स्थानीयलाई आवत–जावतमा समस्या हुने भएको छ । ठेकेदारको लापरवाहीका कारण अब वर्षाको समयमा स्थानीयले सास्ती खेप्नुपर्ने भन्दै यसतर्फ सम्बन्धीत निकायले ध्यान दिनुपर्ने उनीहरुको भनाई छ ।

चार वर्षअघि केन्द्र सरकारको बजेटबाट निलगिरी जे.भि कन्टक्सनले ३ करोड बढी लागत बजेटबाट निर्माण भएको सो कजवे मर्मतमा स्थानीय तहको समयमै ध्यान नपुग्दा क्षती भएको स्थानीयले बताएका छन् ।

३ दिन देखिको वर्षाले देशका विभिन्न ठाउँमा बाढी पहिरो जानका साथै ठूलो जनधनको क्षति भएको छ । बाढी आउन सक्ने भएकाले नदीको छेउछाउमा नजान स्थानीयलाई आग्रह गरिएको छ ।

पाल्पाको रानीमहल क्षेत्र डुबानमा
अविरल वर्षाले कालीगण्डकी नदी तटमा रहेको रानीमहल क्षेत्र डुबानमा परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको हो ।

स्थानीय व्यवसायी सुशील कुँवंरका अनुसार पर्यटकीयस्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन रिसोर्ट तथा पसल टहराहरु पूर्ण रुपमा डुबानमा परेका छन् । रानीमहलमा डिभिजन वन कार्यालय र तानसेन नगरपालिकाले बनाएको पार्कसम्म नै पानीको सतह पुगेको छ ।

रानीमहल क्षेत्रमा हरेक वर्ष डुबान हुन्छ । वर्षायामपछि यहाँ पुनः बगर क्षेत्रमै रिसोर्ट, होटल र पसल सञ्चालन हुन्छन् । अव्यवस्थित रुपमा सञ्चालन हुने होटल, रिसोर्ट र पसल वर्षायाममा भने डुबानमा पर्ने गरेको स्याङ्जा सटुकाका होटल व्यवसायी सुरेश पाण्डेयले बताए ।

कालीगण्डकी तटमा निर्माण भएको रानीमहलमा सिजनमा दैनिक ३ हजारसम्म पर्यटक पुग्ने गर्छन् । अन्य समयमा समेत यही महल हेर्नका लागि पर्यटक जाने गर्छन् । रानीमहल तानसेन नगरपालिका–१३, बौघागुम्हामा पर्छ ।

धार्मिक पर्यटकीय रुरुक्षेत्र डुवानमा
अविरल वर्षासँगै रिडीखोला र कालीगण्डकी नदीमा जलसतह बढेपछि धार्मिक पर्यटकीय रूरूक्षेत्र डुबानमा परेको छ । तीन दिनदेखिको वर्षाले तानसेन नगरपालिका–१४, अर्गली ऋषिकेशव मन्दिर र कुसेनीमा गरी ६ वटा घरटहराका बासिन्दा विस्थापित भएका छन् ।

रिडीखोला किनारमा बस्ने केही घरमा बाढी पसेको स्थानीय सुन्दर कसजुले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी पसेपछि पसल र टहराका बासिन्दा विस्थापित भएका हुन् ।

पश्चिम नवलपरासीका सुरक्षा निकाय हाई अलर्टमा
पश्चिम नवलपरासीमा चारवटै सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको छ । अविरल वर्षाका कारण जिल्लाका विभिन्न भूभागहरु डुबानमा पर्ने र बाढी–पहिरोको समेत जोखिम बढेपछि प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रको अध्यक्षतामा सुरक्षा समितिको बैठक बसेको हो ।
बैठकले उद्धार तथा राहातका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनुभयो ।

सम्भावित विपदको अवस्थामा सहज रूपमा सुचना संकलन गर्नका लागि प्रमुख जिल्ला अधिकारी मिश्रको संयोजकत्वमा चारवटै सुरक्षा निकायका प्रमुखहरु सदस्य रहनेगरी संयुक्त सुचना संकलन केन्द्र गठन गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बार्दघाट दाउन्ने खण्डमा पहिरोको उच्च जोखीम भएकोले त्यस क्षेमा पैरो गए तत्कालै राजमार्ग सुचारु गराउनेगरी एकसाभेटर तयारी अवस्थामा राख्ने निर्ण पनि गरिएको प्रजिअ मिश्रले बताउनुभएको छ ।

प्रकाशित मिति : ३ असार २०७८ बिहिबार ००:००  ६ : १४ बजे