एजेन्सी ।
युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (बुधबार) तीन खेलहरु हुँदैछ । युरोकपमा आज समूह ‘ए’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ ।
आज हुने पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा रहेको फिनल्याण्ड र रुसबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।
फिनल्याण्ड लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १-० ले हराएको थियो । ३ अंक जोडेको फिनल्याण्ड समूहको दोस्रो स्थानमा रहेको छ ।
रुस भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा रुस बेल्जियमसँग ३-० गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा वेल्स र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए को’ वेल्स र टर्कीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
वेल्स पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा वेल्सले स्विजरल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो । टर्की पहिलो अंक जोड्न चाहन्छ । टर्कीलाई पहिलो खेलमा इटालीले ३-० ले हराएको थियो । यस समूहमा वेल्स १ अंक जोडेर तेस्रो र टर्की अंक विहीन रहदै पुछारमा रहेको छ ।
आज हुने तेस्रो खेलमा इटाली र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इटाली र स्विजरल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । इटाली लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा इटालीले टर्कीलाई हराएको थियो ।
इटाली ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । स्विजरल्याण्ड १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । स्विजरल्याण्डले पहिलो खेलमा वेल्ससँग १-१ गोलको बराबरी खेलेको थियो । तर, आज इटालीलाई हराएर स्विजरल्याण्ड पहिलो जित निकाल्न चाहन्छ ।
प्रतिक्रिया