दाङ ।
ङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आजदेखि आइसीयू बेड सञ्चालनमा ल्याएको छ । आजदेखि १० बेडको आइसीयू सेवा सञ्चालनमा ल्याइएको प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर सङ्गीता भण्डारीले जानकारी दिनुभयो ।
उहाँले तत्काल १० बेड थपेर २० शय्याको पुर्याइने गरी काम भइरहेको पनि बताउनुभयो । यस्तै, आउँदो हप्तादेखि एउटा र अर्को हप्ता थप एउटा गरी दुई वटा अक्सिजन प्लान्ट पनि जडानको काम भइरहेको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानमा कालो ढुसी अर्थात म्युकोर्माइकोसिसको परीक्षण र उपचार गर्ने व्यवस्था पनि रहेको छ । यसका लागि विशेषज्ञ डाक्टर रहेको र अन्य दुई जना नाक, कान घाँटी रोग विशेषज्ञको टोलीले रोगको परीक्षण र उपचार गर्ने डाक्टर भण्डारीले जानकारी दिनुभयो ।
यस्तै, कोरोना भाइरसको तेस्रो लहरबाट बालबालिका धेरै प्रभावित हुनसक्ने भन्दै प्रतिष्ठानले बालबालिकाका लागि २० बेडको आइसीयू, १० बेडको पीआइसीयू र ६ बेडको एनआइसीयू छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
पोष्ट कोभिड वार्ड सञ्चालनमा
कोराना भाइरसको दोस्रो लहर कम देखिए पनि त्यसको जोखिम नघटेको भन्दै प्रतिष्ठानले सङ्क्रमणमुक्त तर सम्भावित जोखिम बिरामीका लागि छुट्टै वार्ड नै बनाएर उपचार सुरु गरेको छ । बिरामी सङ्क्रमणमुक्त भएपछि पनि त्यसपछिको जोखिम देखिने गरेपछि छुट्टै वार्ड नै बनाएर उपचार सुरु गरिएको हो ।
कोभिड निको भएर घर गएका बिरामीलाई १४ दिनसम्म जटिलता देखिनसक्ने हुनाले उनीहरुलाई फोन तथा भर्चुअल माध्यमबाट परामर्श दिने र आवश्यक परे फेरि अस्पतालमा बोलाएर उपचार गर्न व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिक्रिया