९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

बाँकेमा असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो



नेपालगञ्ज ।

बाँकेमा असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ। जनजीवनलाई क्रमिक रुपमा सहज गरिँदै लगिएको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना संक्रमण दर घटेको भए पनि अझै जोखिम कायम रहेकाले निषेधाज्ञालाई ७ गतेसम्म लम्ब्याइएको जानकारी दिए।

यो पालीदेखि दैनिक उपभोग्य बस्तुलगायत पसल व्यवसाय बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ। शुरुमा ७ देखि ९, त्यसपछि ७ देखि ११, ७ देखि १२ हुँदै ७ देखि २ बजेसम्म गराइएको छ। नेपालगञ्जमा वेशाख ९ गतेदेखि निषेधाज्ञा लगाइएको थियो।

बाँके जिल्लाभरी वैशाख १३ गतेदेखि निरन्तर निषेधाज्ञा लगाइएको छ। जिल्लामा कोरोना संक्रमणदर भने ह्वात्तै घटेको छ। परीक्षण गर्न आउने पनि कम भएका छन्। सोमबार एक सय ४८ जनाको परीक्षण भएकोमा ४८ जनामा कोरोना देखिएको छ।

त्यसमा बाँकेका नौ जना रहेका छन्। भेरी अस्पतालमा ९८ जनाको जाँच गर्दा ३९ जना, कोहलपुर मेडिकल कलेजमा ३४ जनामा ४ जना र बागेश्वरी ल्याबमा १६ जनाको जाँच गर्दा ५ जनामा कोरोना भएको छ।

प्रकाशित मिति : १ असार २०७८ मंगलबार ००:००  १० : ३९ बजे