काठमाण्डौ ।
नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले सोमवार ९आज० थप ३३ जिल्लाका ६५ ठाउँको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइट www.nepalicongress.org मार्फत सार्वजनिक गरेको छ ।
समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप नामावली सार्वजनिक गरिएको समिति सचिव केशव रिजालले जानकारी दिनुभयो । कांग्रेसले यसअघि एक सय एक ठाउँका क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ ।
आज सार्वजनिक गरिएका र यसअघि सार्वजनिक गरिएका नामावलीमाथि कुनै उजुरी, गुनासा वा सुझाव भएमा समितिमा उजुरी तथा गुनासो पठाउन सकिने व्यवस्था गरिएको उहाँले बताउनुभयो । आउँदो असार ६ गतेपछि प्राप्त भएका उजुरीमाथि कुनै सुनुवाइ नहुने पार्टी कार्यालयले जनाएको छ ।
सार्वजनिक गरिएका प्रस्तावित नामावलीमा कुनै त्रुटि भएको भए वा छुट भएको भए नयाँ सदस्यतातर्फ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले र नवीकरणतर्फका जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाणसहित त्रुटि सच्याउन वा नाम समावेश गराउन असार ६ गतेभित्र नै लेखी पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
सार्वजनिक गरिएका सबै जिल्ला र क्षेत्रले आफूअन्तर्गतका वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपि तथा आवश्यक विवरण एक हप्ताभित्र अनिवार्यरूपमा केन्द्रीय कार्यालयमा पठाउन कांग्रेसले निर्देशन दिएको छ । रासस
प्रतिक्रिया