९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

इंग्ल्यान्डको विजयी सुरुवात, क्रोएसिया १–० ले पराजित



एजेन्सी – उपाधिको बलियो दावेदार मानिएको इंग्ल्यान्डले युरोपेली च्याम्पियसिपमा विजयी सुरुवात गरेको छ । घरेलु मैदान वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० ले पराजित गर्दै प्रतियोगितामा जित सहित सुरुवात गरेको हो ।

युरोको इतिहासमा यसअघिका सबै संस्करणमा पहिलो खेलमा जित हात पार्न नसकेको इंग्ल्यान्डले उक्त खराब रेकर्डमा पूर्णविराम लगाएको छ । खेलको सुरुवातदेखि नै क्रोएसियालाई दवावमा राखेको इंग्ल्यान्डले खेलको छैटौ मिनेटमा अग्रता लिनबाट चुकेको थियो । फिल फोडेनको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
नवौं मिनेटमा काल्भिन फिलिप्सको भली प्रहारलाई क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिकले मुस्किलले नियन्त्रणमा लिए । पहिलो हाफमा क्रोएसियाले कुनै पनि गतिलो पोस्ट आक्रमण बुन्न सकेन । घरेलु टोलीले दोस्रो हाफमा पनि क्रोएसियालाई दवावमा राख्दा ५७औं मिनेटमा अग्रता लिन सफल भयो ।
लिड्सका मिडफिल्डर काल्भिन फिलिप्सले दुई खेलाडीलाई बिट गर्दै दिएको चलाखीपुर्ण पासमा रहिम स्टर्लिङले गोल गरेका थिए । क्रोएसियन डिफेन्डरले उक्त प्रहार ब्लक गर्ने प्रयास गरेपनि वान टचमै गरेको प्रहार गोलरक्षक डोमिनिक लिभाकोभिकको हातमा लाग्दै गोल हुन पुगेको थियो । स्टर्लिङको पछिल्लो १७ खेलमा यो १३औं गोल हो । उनले ६१ खेलमा १५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
६०औं मिनेटमा मासन माउन्टको क्रसमा कप्तान ह्यारी केनले सदुपयोग गर्न नसक्दा इंग्ल्यान्ड अग्रता दोब्बर पार्नबाट चुक्यो । ६५औं मिनेटमा माटियो कोभासिसको पेनाल्टी बक्स बाहिरको प्रहार रिवाउन्ड हुदा एन्टी रेविचको प्रहार बाहिरिदा क्रोएसिया बराबरीबाट चुक्यो । ६७औं मिनेटमा मासन माउन्टको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिदा इंग्ल्यान्डले अग्रता दोब्बर पार्न सकेन ।
यो जितपछि समूह ‘डी’ मा रहेको इंग्ल्यान्डले ३ अंक जोडेको छ । पराजित क्रोएसिया पुछारमा रहेको छ । यो समूहको चेक रिपब्लिक र स्कटल्यान्डबीको खेल सोमबार राति हुनेछ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८ आइतबार ००:००  ८ : ४६ बजे