काठमाडौँ ।
बागमती प्रदेशसभाका कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको विवादास्पद अभिव्यक्ति आत्मालोचनासहित फिर्ता लिएका छन् । शनिबारको प्रदेशसभा बैठक मार्फत उनले शुक्रबार दिएको अभिव्यक्ति फिर्ता लिएका हुन् ।
‘असाध्यै आवेगमा र भावावेशमा आएर मैले आफ्ना कुरा पोख्ने सिलसिलामा आवश्यकता भन्दा बढि नै स्वतन्त्रताको उपयोग गरेछु। यो मैले फिल गरेँ’, उनले भने। आफ्ना कुरा पढेर सुनाउँदै उनले शुक्रबारको अभिव्यक्ति रेकर्डबाट हटाउन समेत अनुरोध गरेका छन्।
‘मैले संसदको रोष्टममा उभिएर आफ्नो प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री ज्यूप्रति लक्षित गर्दै मबाट प्रयोग भएका शब्दहरु आपत्तिजनक र संसदीय मर्यादा विपरीत भएको भनी मेरो संसदीय दलले उक्त अभिव्यक्ति फिर्ता लिन आग्रह गरेको र मैले आफैले पनि आफूले बोलेको कुरा कुटनीति र संसदीय मर्यादा विपरीत रहेको महसुस गर्दै, शान्तिपूर्ण राजनीतिको शालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भन्ने कुरालाई आत्मसाथ गर्दै हिंसाबाट शान्ति पूर्ण रुपान्तरणका लागि अरु राजनीतिक दलहरुलाई समेत प्रेरित गर्दै संयोजन गरेको दलको एक सिपाहीको नाताले आफूले बोलेको उक्त अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन माननीय सभामुखसमक्ष हार्दिक अनुरोध गर्दछु।’
यसअघि कांग्रेसले बागमती प्रदेशसभाको बैठकमा विवादास्पद अभिव्यक्ति दिने सांसद वैद्यलाई अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिइएको जनाएको थियो। यस्तै नेकपा एमालेले आपत्ति जनाउँदै फौजदारी अभियोग लगाउने योग्य रहेको बताएको थियो।
शुक्रबार बागमती प्रदेशसभा बैठकमा वैद्यले आफू प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाथुराम गोडसे बन्न तयार रहेको बताएका थिए।
प्रदेशसभा बैठकमा वैद्यले प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै भनेका थिए, ‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्। त्यसैले मेरो आग्रह छ, अब कोही नाथुराम गोड्से बन्न तयार हुनुर्पयो मुलुक बचाउनलाई, कोही नाथुराम बन्न तयार छैन भने म बन्छु।’ महात्मा गान्धीको गोली हानी हत्या गर्ने व्यक्ति नाथुराम गोडसे हुन् ।
प्रतिक्रिया