९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

दाङमा कुलो निर्माणका क्रममा भएको विवादमा गोली चलाउने पक्राउ



दाङ ।

कुलोपानीको विषयमा विवाद हुँदा दाङको तुलसीपुर–८ अश्वारामा गोली चलेको विषयमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

कुलो निर्माणको विषयमा विवाद हुँदा स्थानीय पूर्णबहादुर वलीले गोली चलाएका प्रहरीले जनाएको छ । गोली भने कसैलाई पनि नलागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले जानकारी दिनु भयो ।

कुलोको विषयमा विवाद हुँदा तुलसीपुर–८ चन्द्रगन्ज निवासी वलीले पेस्तोल निकालेर गोली चलाएका थिए । उनलाई प्रहरीले अहिले नियन्त्रणमा लिइसकेको डीएसपी सिंहले जानकारी दिनुभयो । प्रहरीले फायरिङ गरेको पेस्तोलसहित सात राउण्ड गोली नियन्त्रणमा लिएको छ ।

भारतमा बस्दै आएका उनी केही दिनअघि मात्रै घर आएका थिए । एक राउण्ड गोली चलाएर मोटरसाइकलमा भागेकाका वलीलाई प्रहरीले तुलसीपुरको पातुखोलाबाट नियन्त्रणमा लिएको डीएसपी सिंहले जानकारी दिनुभयो । उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनले कसलाई गोली हान्न खोजेको भन्ने खुल्न सकेको छैन । पक्राउ पर्ने अर्का व्यक्ति तथा मोटरसाइकल चालक स्थानीय २१ वर्षीय आकाश चौधरी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८ शुक्रबार ००:००  ४ : ४२ बजे