८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

जुन १३ देखि सुरु हुने यसबर्षको मनसुन



काठमाडौं ।
नेपालमा यस वर्षदेखि मनसुन पछाडि धकेलिएको छ । मनसुन सुरु हुने, बहिर्गमन हुने र मनसुनको अवधिसमेतको अवधि पछाडि धकेलिएको हो । यसअघिका १० वर्षको अवधिमा हरेक वर्ष जुन १० मनसुन सुरु हुने दिन तय गरिएको थियो तर यस वर्षदेखि जुन १३ लाई मनसुन सुरु हुने मिति तय भएको छ ।

त्यस्तै गत वर्षसम्म मनसुन सकिने अवधि सेप्टेम्बर २३ रहेकोमा अब मनसुन सकिने मितिसमेत पछि सर्दै अक्टोबर २ पुगेको छ । त्यसैले यसै वर्षदेखि मनसुन सुरु हुने र अन्त्य हुने अवधि नै पछाडि सरेकोजल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विगत चार–पाँच वर्षयता मनसुन सुरु हुने समय ढिला हुँदै गएको अवस्था र हरेक १० वर्षमा मनसुन अवधि अद्यावधिक गर्न आवश्यक मौसम विश्लेषणपछि मनसुन सुरु हुने र अन्त्य हुने मिति पछाडि सारिएको विभागको जलवायु महाशाखाले जनाएको छ ।

विश्व मौसम सङ्गठनको नियमअनुसार अन्तर्राष्ट्रिय मान्यताअनुरूप हरेक १० वर्षमा मौसम परिवर्तनको अवस्था विश्लेषण गरी अद्यावधिक गर्नुपर्ने हुन्छ । नेपालको मनसुनसहितको मौसमी अवस्था अद्यावधिक गर्नका लागि पछिल्लो ३० वर्ष अर्थात् सन् १९९१ देखि २०२० सम्मको मौसमी तथ्याङ्कलाई विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८ शुक्रबार ००:००  ८ : ०५ बजे