मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा बनेको आइसोलेसन र कपिलवस्तु सामुदायिक अस्पताललाई १२ । १२ वटाका दरले २४ थान अक्सिजन सिलिण्डर प्रदान गरिएको छ ।
राष्ट्रिय सभा सदस्य विमला घिमिरेको प्रमुख आतिथ्य र नगर प्रमुख मंगल प्रसाद थारुको विशेष आतिथ्यमा विहीबार कपिलवस्तु सामुदायिक अस्पालमा भएको कार्यक्रमकाबीच अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो ।
कोरोना महामारीको दोश्रो भेरियन्टसंगै मुलुकमा बढ्दो संक्रमण र मृत्युदरलाई रोक्नको लागि बाणगंगाका बिभिन्न संघसंस्थाको सक्रियतामा बाणगंगा विपद् ब्यवस्थापन संजाल स्थापना गरिएको छ ।
सो संजालले बिभिन्न व्यक्ति, वन, संघसंस्था आदिबाट सहयोग लिई अक्सिजन सिलिण्डर लगायतका सामग्री संकलन गरिरहेको छ । सो सिलिण्डर करिब ६ लाख बराबरको रहेको पनि कार्यक्रममा जानकारी गराइएको छ ।
तीमध्ये स्वर्गिय विष्णु प्रसाद पौडेल स्मृति कोषबाट २ लाख २० हजार ५ सय बराबरको ७ थान सिलिण्डर सहयोग गरिएको थियो । स्वर्गिय पौडेलकी आमा योगमाया पौडेल, दाजु अमित पौडेल, धर्मपत्नी जानकी भण्डारीले विष्णु प्रसादको स्मृतिमा सो सहयोग गर्नुभएको थियो ।
कोषका तर्फबाट बोल्दै स्वर्गिय पौडेलका दाजु अमित पौडेलले बार्षिक रुपमा क्यान्सर र अन्य निम्न आय भएका विरामीलाई कोषबाट सहयोग गरिँदै आएको जानकारी गराउँदै यस बर्ष कोरोना महामारीलाई केन्द्रित गरी दिइएको बताउनु भयो । अक्सिजन अभावमा धेरै जनाको मृत्यु भएको खबरले दुखी भएपछि पारिवारिक रुपमा सल्लाहा गरेर सो सहयोग गरेको उहाँले बताउनु भयो । यसको सही सदुपयोग गर्न स्वर्गिय पौडेलकी आमा योगमाया पौडेलले आग्रह गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले कोरोना कहरकाबीच पनि संघ संस्थाको पहलमा महत्वपूर्ण काम भएको प्रसंसा गर्नुभयो । नगरमा अक्सिजन अभाव टार्न र कसैको पनि अक्सिजन अभावकै कारणले मृत्यु भयो भन्ने खबर सुन्न नपरोस् भन्ने पवित्र विचारले गरिएको यो सहयोगले नगर र सामुदायिक अस्पताललाई ठुलो राहत हुने बताउनु भयो ।
राज्य पनि आफ्नै तवरबाट कोरोना नियन्त्रणमा लागिरहेको बताउँदै सरकारले कोरोना नियन्त्रणमा काम गरेन भन्नु गलत हुने बताउनु भयो । अहिले स्थानीय सरकारले प्रभावकारी ढंगले काम गर्नु पर्ने स्थिति रहेको उहाँको भनाई छ । हिजोको दिनमा कपिलवस्तुबाट चुनेर बनेका माननीयहरुले आफूले जति काम गर्न नसकेको उहाँको भनाई छ ।
सिलिण्डर ग्रहण गर्दै नगर प्रमुख थारुले नगरले कोरोना नियन्त्रणमा प्रभावकारी काम गरिरहेको बताउनु भयो । संजालले निकै राम्रो काम गरेको भन्दै प्राप्त सिलिण्डरको सही ठाउँमा सदुपयोग हुने बताउनु भयो । नगरले बजेट निर्माण लगायतका काम गरिरहेको हुँदा कोरोना रोकथाम र नियन्त्रणमा बजेटले प्राथमिकता पाउने उहाँको भनाई छ ।
कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष तथा नगरको अकिसजन सिलिण्डर ब्यवस्थापन समिति संयोजक गणेश बहादुर क्षेत्रीले संजालले गरेको कामको खुबै प्रसंशा गर्नुभयो । नगरमा अहिलेसम्म एक जनाको पनि अक्सिजन अभावले मृत्यु हुनु पर्ने स्थिति नरहेको भन्दै नगरमा प्रशस्त सिलिण्डर रहको प्रष्ट्याउनु भयो । संजालले सिलिण्डर मात्र संकलन गर्ने नभई अक्सिजन प्लान्ट नै बनाएर नगर र संघ संस्था अगाडी जानु पर्ने बताउनु भयो ।
कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष तथा संजालका संयोजक डोलकराम घिमिरेको अध्यक्षता, अस्पतालका महासचिव पोमनारायण पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा कपिलवस्तु सामुदायिक अस्पतालका कार्यबाहक अध्यक्ष रामप्रसाद गैरे, सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेजप्रसाद आचार्य, मनकामना सामुदायिक बनका अध्यक्ष अमित पौडेल, खोजिपुर सामुदायिक वनका अध्यक्ष दीपक थापा लगायतले बोल्नु भएको थियो ।
प्रतिक्रिया