सिमकोट ।
कोरोना संक्रमणका कारण हिमाली जिल्ला हुम्लामा पहिलो पटक एकजनाको मृत्यु भएको छ।
कोरोना संक्रमित सर्केगार्ड गाउँपालिका वडा नम्बर २ को रिप गाउँका स्थानीय ५७ वर्षका पुरुषको उपचार गर्न जिल्ला अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए।
सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार गर्न सम्भव नभएपछि जिल्ला अस्पतालमा थप उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएको हो।
स्वास्थ्य चौकीमा उपचार नहुने भएपछि बिहीबार बिहान उपचारका लागि उनका दुई जना छोराहरुले स्टेचरमा बोकेर ल्याउने क्रममा दुल्ली कुनामा मृत्यु भएको शर्माले बताए।
अब शव व्यवस्थापन आफन्तले नै गर्ने कि नेपाली सेनाले गर्ने भन्नेबारे भन्नेबारे छलफल भइरहेको शर्माले बताए। यसका लागि गाउँपालिका अध्यक्ष कृष्ण बहादुर रोकायासँग समन्वय भइरहेको र चाँडै टुङ्गोमा पुग्ने उनले बताए। शव व्यवस्थापनका लागि घटनास्थल पुग्न नेपाली सेनालाई दुई दिन लाग्नेछ।
एक हप्ता अगाडि गाउँमा एष्टिजेन किटबाट कोरोना पुष्टि भएर होम आइसोलेशनमा बस्दै आएका उनको बुधवार श्वासप्रस्वासमा समस्या भएपछि परिवारले गाउँपालिका केन्द्रको स्वास्थ्य चौकीमा पुर्याएको अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताइन्। मृत्यु भएका पुरुषलाई दमको समस्या थियो।
अक्सिजनको व्यवस्था स्वास्थ्य चौकीमा भएपनि विद्युत समस्याका कारण त्यो पनि सम्भव भएको थिएन। उपचार नहुने भएपछि जिल्ला अस्पतालका चिकित्सकहरुसँगको समन्वयमा बिहीबार बिहान मात्र बिरामीलाई सदरमुकाम ल्याउन खोजिएको थियो।
गत वैशाख १९ गते जिल्लामा पहिलो पटक नेपालगंज र सुर्खेतबाट हवाई जहाजमा आएका आठ जनामा दोस्रो चरणको कोरोना संक्रमण देखिएको थियो।
प्रतिक्रिया