७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

विश्वकप क्रिकेटः सन् २०२४ देखि २०३१ सम्म २० टिमले खेल्न सक्ने



एजेन्सी ।
सन् २०२४ देखि २०३१ सम्मको साइकलमा आइसीसी क्रिकेट विश्वकपमा टीम संख्या बढ्ने भएको छ । अब एकदिवसीय विश्वकपमा १४ र टी २० विश्वकपमा २० टिम सहभागी हुनेछ ।आगामी साइकल अन्तर्गत सन् २०२७ र २०३१ को एकदिवसीय विश्वकप क्रिकेटमा १४ टिमले प्रतिस्पर्धा गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले एकदिवसीय विश्वकपमा सहभागि संख्या बढाउने निर्णय गरेको हो । पछिल्लो समय प्रतिस्पर्धात्मक बनाउन विश्वकपमा १० टिमलाई मात्र सहभागि गराइएको थियो । सन् २०२३ मा हुने एकदिवसीय विश्वकपमा पनि १० टिमले मात्र खेल्ने तय छ ।

यस्तै, २०२४ देखि टी२० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । आइसीसीले सन् २०२४, २०२६, २०२८ र २०३० को टी२० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ । यस्तै ८ टिम सहभागि हुने च्याम्पियन्स ट्रफी २०२५ र २०२९ मा हुनेछ ।

महिला विश्वकपमा यसअघि नै टिम संख्या बढाउने आइसीसीले निर्णय गरिसकेको छ । एकदिवसीय विश्वकपमा १४ टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूहको शीर्ष तीन सुपर सिक्सका लागि छनोट हुनेछन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८ बुधबार ००:००  ७ : ४९ बजे