१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पोखरामा अक्सिजन अभावले एकैरात ६ बिरामीको निधन



पोखरा ।
हाइफ्लोमा अक्सिजन चाहिने बिरामीलाई पर्याप्त मात्रामा अक्सिजन आपूर्ती नहुँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गएराति ६ बिरामीले ज्यान गुमाएका छन् । ती मध्ये एक सुत्केरीसहित मिर्गौला र सुगरका बिरामी पनि छन् ।

कोरोना संक्रमित बिरामी पनि रहेका छन् । अस्पतालका कोभिड फोकल पर्सन डा. शरद बरालले चाहिने मात्रामा अक्सिजन दिन नसकिएको स्वीकार गरे । अक्सिजन आपूर्ति गर्ने उद्योगबाट कम परिणाममा अक्सिजन आएको उनले बताए ।

यो अस्पतालमा पोखरा अक्सिजन प्रालिले अक्सिजन आपूर्ति गर्ने गर्दछ । यो उद्योगमा अस्पतालकै सञ्चालक तथा डाक्टरको लगानी छ ।

डा. बरालका अनुसार हाइफ्लोका बिरामीलाई प्रतिमिनेट ६० देखि ८० लिटर अक्सिजन चाहिन्छ । तर, त्यसको मात्रा घटाउँदा बित्तिकै बिरामीको अवस्था गम्भीर बन्न पुग्छ ।

आवश्यक मात्रा नपुगेकै कारण ६ जनाले ज्यान गुमाएका हुन् । गण्डकीकै ठूलो कोरोना संक्रमितको उपचार गर्ने यो अस्पतालमा प्रदेशमा नै पहिलोपटक अक्सिजनको मात्रा नपुगेर एकैपटक ठूलो मात्रामा बिरामीले ज्यान गुमाएका हुन् ।

अस्पतालमा आफ्नै प्लान्ट छैन । पोखरा अक्सिजन प्रालिले दैनिक ३ सय सिलिन्डर अक्सिजन यो अस्पतालमा पठाउने गर्दछ ।

तर, पछिल्लो समय हाइफ्लोका बिरामी बढेका कारण अक्सिजन अपर्याप्त देखिएको बरालले बताए । अहिले पनि हाइफ्लोमा अक्सिजन दिनुपर्ने बिरामीको संख्या ९ जना रहेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८ शुक्रबार ००:००  १० : ३२ बजे