काठमाडौं ।
छिमेकी मुलुक भारतमा दैनिक थपिने र मृत्यु हुने कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या घट्दै गइरहेको छ । भारतमा २४ घण्टाभित्र थपिने र मृत्यु हुने सङ्ख्या अन्य मुलुकको तुलनामा अत्याधिक धेरै छ । कोरोना सङ्क्रमणका कारण नराम्ररी प्रभावित बनेको भारतमा एकै दिन एक लाख ७९ हजार सात सय ७० जना नयाँ बिरामी थपिए ।
यसअघि भारतमा दैनिक चार लाखसम्म सङ्क्रमित थपिने गरेका थिए । तर पछिल्लो समय सङ्क्रमण नियन्त्रणका लागि अपनाइएका विभिन्न उपाय प्रभावकारी बन्दै गएपछि कोरोना नियन्त्रणमा केही सफलता प्राप्त भएको छ ।
नेपालसँग खुला सीमा रहेको मुलुक भारतमा जम्मा सङ्क्रमित सङ्ख्या दुई करोड ७५ लाख ४७ हजार सात सय पाँच पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ४८ लाख ९० हजार तीन सय २६ जना उपचारपछि निको भएका छन् ।
२३ लाख ३८ हजार पाँच सय ५८ जना सङ्क्रमणमुक्त हुन बाँकी छ । सङ्क्रमणमुक्त हुन बाँकी रहेकाहरुको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।
भारतमा एकै दिन तीन हजार पाँच सय ५८ जनाको मृत्यु कोरोनाका कारण भयो । भारतमा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि केही कमी आएको छ । यसअघि दैनिक चार हजारभन्दा बढी सङ्क्रमितको मृत्यु हुने गरेको थियो ।
हालसम्म तीन लाख १८ हजार आठ सय २१ जना भारतीय नागरिकको कोरोनाका कारण मृत्यु भइसकेको छ । भारत कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।
कोरोनाका कारण भारतको अवस्था जर्जर बनिरहँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको थियो । खुला सीमाका कारण हुने आवतजावत नेपालमा कोरोना फैलने मुख्य कारण बन्यो ।
नेपाल सरकारले सीमा नाका सिल गरे पनि आवतजावत बन्द हुन सकेको छैन । सीमा नाका हुँदै अवैध रुपमा भइरहेको आवतजावतले नेपालमा कोरोना सङ्क्रमण तीव्र बनाएको विज्ञको भनाइ छ
प्रतिक्रिया