काठमाडौं ।
नेकपा एमालेका अरु १२ जना नेताहरुले पनि पार्टीलाई स्पष्टीकरण नबुझाउने भएका छन् । पार्टीको स्थायी कमिटी बैठकको निर्णय अनुसार अस्ति बुधवार थप १२ जनालाई स्पष्टीकरण पठाइएको थियो ।
आफूहरुलाई प्राप्त स्पष्टीकरणको जवाफ पठाइरहनुपर्ने आवश्यकता नदेखिएकाले सबै १२ जनाले नै स्पष्टीकरण नदिने निर्णय भएको एमालेको खनाल–नेपाल समूहका विघटित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले जानकारी दिनुभयो।
गएको सोमवार बसेको एमाले ओली समूहको स्थायी कमिटी बैठकले ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्ने र अरू १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । विपक्षी गठबन्धनलाई सघाएका २३ जना विघटित प्रतिनिधि सभाका सदस्यमध्ये १२ जनालाई अस्ति बुधवार २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।
नेताहरू सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो ।
पार्टीको अनुशासन विपरीत गतिविधिमा संलग्न भएको भन्दै यसअघि एमालको ओली समूहले नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, रामकमारी झाँक्री, मुकुन्द न्यौपाने, सरला यादव, कल्याणी खड्का, पुष्पा कर्ण, निरु जैरु, कलिना खान र लक्ष्मीकुमारी चौधरीलाई साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेको हो ।
प्रतिक्रिया