१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘अक्सिजन सिलिन्डर समयमै फिर्ता गरिदिनुस्’



काठमाण्डौ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन सिलिन्डर समयमा नै फिर्ता गर्न आग्रह गरेको छ । समयमा सिलिन्डर फिर्ता नहुँदा अवस्था झनै विकराल बन्दै जाने भएकाले समयमा नै सम्बन्धित उद्योगमा फिर्ता गर्न आग्रह गरिएको हो ।

अक्सिजन सिलिन्डर त्यसै थन्काएर राख्दा अस्पतालमा सघन उपचाररत सङ्क्रमितलाई अप्ठ्यारो हुन जाने भएकाले यस विषयमा सबैलाई संवेदनशील बनिदिन पनि स्वास्थय मन्त्रालयले आग्रह गरेको छ ।

यो सङ्क्रमणको महामारीको समयमा अक्सिजन जस्तो औषधीय विषयमा प्राविधिक ज्ञान र विकेकभन्दा बाहिर गएर निर्णय गर्नेरगराउने कार्यलाई बन्द गराउन तथा अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी समन्वयको व्यवस्थापनका लागि सम्बन्धित सबैमा मन्त्रालय सार्वजनिक अनुरोध गर्दछ मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

यस्तै, एउटा उद्योगका अक्सिजन सिलिन्डर अन्त प्रयोग हुने क्रम बढिरहेको भन्दै त्यसो नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । व्यक्तिगत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका अक्सिजन सिलिन्डर समयमा नै अक्सिजन उत्पादक कम्पनी तथा अस्पतालमा पुर्‍याउन मन्त्रालयको अनुरोध छ ।

मन्त्रालयका अनुसार अहिले ३२ वटा अस्पतालमा अक्सिजन प्लान्ट र तीन अस्पतालमा तरल अक्सिजन प्लान्ट रहेका छन् । सङ्क्रमणको दोस्रो लहर आइसकेपछि सरकारले नौ सय अक्सिजन कन्सन्ट्रेटर र पाँच हजार अक्सिजन सिलिन्डर ल्याएको छ । मन्त्रालयले अहिले हप्तामा ७० देखि ८० टन तरल अक्सिजन भारतबाट आयात गरिरहेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८ बुधबार ००:००  ३ : ३१ बजे