मायादेवी अनलाइन, चारनम्बर ।
नेकपा (माओवादी) केन्द्र कपिलवस्तुकी नेतृ सन्तोषी पाण्डेको निधन भएको छ । भैरहवामा उपचाररत पाण्डेको बुधबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पाण्डे केही दिन यता विरामी हुनुहुन्थ्यो ।
लामो समय देखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहदै आउनुभएकी पाण्डे माओवादी केन्द्रको जिल्ला नेता हुनुहुन्थ्यो । महिला शसक्तिकरणमा पनि उहाँको योगदान अमूल्य छ ।
माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय नेता समेत रहनुभएकी पाण्डे जिल्लाको शिवराज नगरपालिका खरेन्द्रपुरमा स्थायी बसोबास थियो । उहाँ अनेमसंघ (क्रान्तिकारी)को पूर्व जिल्ला अध्यक्ष भएर पनि काम गर्नुभएको थियो ।
०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नं. ४ बाट माओवादी केन्द्रको समेत उहाँ उम्मेदवार हुनुहुन्थ्यो । जिल्लाका विभिन्न महिला अधिकारको क्षेत्रमा बसेर काम गर्नुभएकी पाण्डेको निधनले सिंगो जिल्ला स्तब्ध भएको छ ।
नेतृ पाण्डेलाई कोरोना भाइरसको संक्रमण थियो । भैरहवामा उपचाररत पाण्डेलाई कोरोनाले झन पछि झन च्याप्दै गए पछि भेन्टिलेटरको सहायता लिनु पर्ने भएपनि भेन्टिलेटर खोज्दा कतै नपाइएको माओवादीका केन्द्रीय सदस्य डोर प्रसाद उपाध्यायले बताउनुभयो । भेन्टिलेटर पाइएको भए ज्यान बचाउन सकिन्थ्यो की भन्ने झिनो आशा रहेपनि त्यो सम्भव नभएको भन्दै उहाँले दुख व्यक्त गर्नुभयो । जिल्लामा होनहार क्रान्तिकारी महिला गुमाउनु पर्दा पार्टीलाई अपुरणीय क्षति भएको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया