बिष्णु कुमार आले, अर्घाखाँची ।
प्युठानको नौबहिनी गाउँपालिका वडा नं. १ स्याउलिबाङ चौतारामा घर भत्किँदा एकै घरपरिवारका ३ जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका १ का ४० वर्षीय बोमबहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ वर्षीय छोरा शिसीर मल्लको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देविप्रसाद गैरेका अनुसार घटना राति कतिबेला भयो एकिन हुन सकेको छैन । बिहान साढे ७ बजे मामा घरबाट मृतकका जेठी छोरी घरमा आएपछि मात्र घटनाबारे जानकारी भएको हो ।
मल्लकी जेठी छोरी (अन्दाजी १६ वर्षीया) शनिबार बेलुका नै मामा घर गएकी थिइन् । उनी बिहान घर फर्किदा बुबा आमा नदेखेपछि छरछिमेकलाई खोजीका लागि गुहार मागेपछी प्रहरी घटनास्थल पुग्दा तीनै जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
सोही घरको छुट्टै कोठामा सुतेका मल्लका ८, १० र ११ बर्षीय ३ छोरीहरू शकुसलै थिए । तर घटनाबारे बिहानसम्म उनीहरूलाई कुनै जानकारी नभएको प्रहरी प्रवक्ता गैरेले जानकारी दिए ।
प्रहरीका अनुसार मल्ल परिवारले खरको छाना हटाएर जस्तापाता लगाउन शनिबार मात्रै छाना निकालेका थिए । दिउँसो पानी परे पनि राति पानी परेको थिएन । मल्ल परिवार सोही घरमा माथि त्रिपाल राखेर सुतेका थिए ।
त्यसरी सुतेका बुबा, आमा र छोरालाई माथिल्लो तला खसेर प्यापेपछि मृत्यु भएको भए पनि अर्कौ छुट्टै कोठामा सुतेका बच्चाहरूले घटनासमेत थाहा नपाएको प्रहरीले जनाएको छ । शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल बिजुवारमा लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया