पोखरा ।
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य एवं पार्टीका केन्द्रीय सदस्य कृष्ण थापालाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेको छ। शनिबार बसेको केन्द्रीय समिति बैठकले थापालाई केन्द्रीय समिति सदस्य लगायत सबै जिम्मेवारीबाट निष्काशन गरेको हो।
थापा पार्टीको केन्द्रीय सदस्य र गण्डकी प्रदेश सभामा सदस्य समेत रहेका थिए। सांसद थापालाई पहिलो चरणमा १ वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको सो पार्टीका महासचिव मनोज भट्टले जानकारी दिए।
उनले पार्टी निर्देशन उल्लंघन गरी पार्टीको प्रतिष्ठामा आँच पुर्याउने कार्य गरेकाले कारवाही गरिएको महासचिव भट्टले बताए। सांसद थापालाई सांसद पदबाट भने निलम्बन गरिएको छैन। पार्टीको ह्वीप विपरित काम गरेका उनलाई दलको नेताबाट पहिले नै हटाइएको थियो।
पहिलो चरणमा पार्टी सदस्यबाटै निलम्बन गरिएको र आगामी दिनमा पुनः पार्टीको निर्देशन उल्लंघन गरिएको अवस्थामा सांसदबाट समेत हटाइने बताइएको छ। गत वैशाख २९ गते पार्टीको निर्देशन विपरित थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन गर्दै उनीविरुद्धको गठबन्धनमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। गण्डकीमा सरकार बनाउन र ढाल्न जनमोर्चाका ३ मत निर्णायक हुन्छ। प्रदेशमा ६० सांसद रहेकामा मुख्यमन्त्रीका पक्षमा २८ मत छ । बहुमतका लागि ३१ मत चाहिन्छ।
राष्ट्रिय जनमोर्चाले गण्डकीमा सरकारका विरुद्ध दुई वा दुई भन्दा बढी दललाई समर्थन गर्ने निर्णय गरेको बेला सांसद थापाले पार्टी निर्देशन विपरित हस्ताक्षर गर्न अस्वीकार गरेको र पार्टी प्रतिष्ठामा आँच आउने कार्य गरेकाले कारवाही गरिएको जनाएको छ।
प्रतिक्रिया