रुपन्देही ।
हरेक वर्ष बुद्ध जयन्ती नजिकिँदै जाँदा लुम्बिनीमा विशेष चहलपहल हुन्थ्यो । लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थलमा विशेष कार्यक्रम गर्नका लागि दुई महिना अगाडी देखि नै उपसमितीहरु बनाएर तयारी शुरु गथ्र्यो ।
बौद्ध उपासक उपासिका, भिक्षु भिक्षुणी पनि उत्साहित हुन्थे । तर, अहिले त्यस्तो छैन । कोरोना भाइरस महामारीका कारण लुम्बिनी सुनसान छ ।
पहिलो चरणको कोरोना भाइरस महामारी कम भएपछि केही दिन खुलेको बुद्ध जन्म स्थल दोस्रो चरणको महामारी शुरु भएपछि फेरी बन्द छ । मायादेवी मन्दिर सहित विकास कोष भित्रका बिहारहरु पनि बन्द छन् । कोष बाहिरका होटल तथा व्यवसाय पनि बन्द छन् ।
कोरोना सङ्क्रमणले गर्दा बुद्ध जयन्ती नजिकिए पनि विकास कोषका पदाधीकारी र कर्मचारीमा कुनै उत्साह छैन । पर्यटन ब्यवसायी तथा स्थानीय पनि खुसी छैनन् । कोरोनाकै कारण गत वर्ष पनि बुद्ध जयन्ती मनाइएको थिएन । कोरोनाले गर्दा यस पटक पनि बुद्धजयन्ती खल्लो हुने भएको छ ।
यस पटक बुद्ध जयन्तीमा लुम्बिनीस्थित विहार, र गुम्बाका भिक्षु भिक्षुणी, लामा गुरु, गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा सामान्य पूजाआजा र दीप प्रज्वलन गर्ने योजना विकास कोषले बनाएको छ ।
कोरोनाका कारण अन्तरराष्ट्रिय जगत नै शोकमा भएका कारण बुद्ध जयन्तीमा विशेष कार्यक्रम गर्ने अवस्था नभएकाले दीप प्रज्वलन र वृक्षारोपण गर्ने योजना बनाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयको भनाइ छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम गरीे पूजा र प्रार्थना गरिने विकास कोषका सदस्य सचिव सानुराजा शाक्य बताउँछन् ।
शान्तिका अनुयायी बुद्धको जन्मदिनमा जन्मस्थलमै पूजाआजा नगर्दा नराम्रो सन्देश जाने भएकाले कोषले यस्तो योजना बनाएको जनाएको छ । बुद्ध जयन्तीमा साँझ मायादेवी मन्दिर परिसरमा रहेको पुष्करणी पोखरी परिसरमा २५६५ औँ दीप प्रज्वलन गरिने छ ।
‘संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ’ भन्ने ज्ञानका प्रबर्तक गौतम बुद्धको जन्मजयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूर्णिमाका दिन विश्वभर मनाइन्छ । यसपटक यही जेठ १२ गते २५६५ औँ बुद्ध जयन्ती मनाइँदै छ ।
विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गरेको भिक्षु सागर धम्म बताउँछन् ।
प्रतिक्रिया