१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुमा थप एक हप्ता लकडाउन गर्ने तयारी



मायादेवी अनलाइन, चारनम्बर ।
नयाँ भेरियन्टसहित कोरोना भाइरसको दोस्रो लहरको चपेटामा परेको कपिलवस्तुमा थप एक हप्ता लकडाउन थपको तयारी थालिएको छ । गत बैशाख २१ गतेदेखि जिल्लामा दुई चरणमा गरी जेष्ठ १० गते राति १२ बजेसम्मका लागि लकडाउन जारी छ ।

जेष्ठ १० नजिकिदै गर्दा लकडाउन थप्नेबारे जिल्ला कोभिड संकट व्यवस्थापन समवन्य समिति (डिसीसीएमसी)ले छलफल चलाएको छ । लकडाउनबारे निर्णय लिन आइतबार (भोलि) जिल्ला प्रशासन कार्यालयमा बैठक आह्वान गरिएको छ ।

जिल्लामा कोरोना भाइरसको लहर तीव्र छ । जिल्लामा नयाँ भेरियन्टसहितको कोरोना चैत्र १९ गतेदेखि भेटिन थालेको हो ।

कोरोना नियन्त्रणको प्रभावकारी उपाय लकडाउन भएको दाबी छ । समयमै लकडाउन गर्न सकिएकाले कोरोना नियन्त्रण उन्मुख रहेको स्वास्थ्यका अधिकारी बताउँछन ।

जिल्लास्थित स्वास्थ्यकर्मीहरुले अझै लकडाउन बढाउनुपर्ने माग गरिरहेका छन् । अझै कम्तिमा दुई साता लकडाउन गर्नुपर्ने उनीहरुको सुझाव छ ।

जिल्लामा झण्डै तीन हप्ता देखि लकडाउन हुँदा जनजीवन भने प्रभावित हुँदै गएको छ । निर्माणका काम नरोकिएपनि दिनभर गरी खाने वर्ग प्रभावित भएका छन् । साना तथा मझौला उद्योगी व्यवसाय र व्यापारी लकडाउनको चरम मारमा परेका छन् । स्थानीय सरकारले लकडाउनबाट प्रभावित वर्गका लागि कुनै राहतका कार्यक्रम ल्याउन सकेका छैन ।

शनिबारसम्म जिल्लामा १ हजार ३८६ जना सक्रिय संक्रिमित रहेका छन् भने मृतकको संख्या १५२ पुगेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८ शनिबार ००:००  ५ : २९ बजे