१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

राष्ट्रपतिबाटै संविधानमाथि हमला भएको कांग्रेसको ठहर, महाअभियोगसहितका विकल्पमा जाने



काठमाण्डौ ।


नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीबाटै संविधान र लोकतन्त्रमाथि हमला भएको निष्कर्ष निकालेको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा भएको पदाधिकारीको बैठकले प्रधानमन्त्री ओलीका गैर-लोकतान्त्रिक र संविधान विरोधी सिफारिसलाई राष्ट्रपतिले साथ दिएको भन्दै उहाँबाटै संविधान जोखिममा परेको निष्कर्ष निकालेको हो । बैठकमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीका क्रियाकलापको भर्त्सना पनि भएको सह-महामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले विश्वासको मत नपाएको वा राजीनामा दिएको अवस्थामा मात्रै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था कुल्चेर राष्ट्रपतिले २१ घण्टाको समय दिनु आपत्तिजनक विषय भएको कांग्रेसले जनाएको छ । राष्ट्रपतिको आह्वानको विरुद्धमा विभिन्न विकल्पमा अरु दलसँग पनि छलफल गर्ने कांग्रेसले निर्णय गरेको छ ।

‘जुनसुकै विकल्पमा गएर पनि यो असंवैधानिक कदमलाई सफल हुन दिनुहुन्न भन्ने निष्कर्षमा पुगेका छौँ, उहाँमाथि महाअभियोगको कुरा पनि चलेको छ, धेरैजनाले राष्ट्रपतिलाई नै राख्नुहुन्न भन्ने धारणा राख्नुभयो ’ भन्नुभयो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८ शुक्रबार ००:००  ११ : ३९ बजे