१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

एमाले एकताको वातावरण धुमिल भएको महासचिव पोखरेलको घोषणा



काठमाडौँ ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादलको पराजयलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति तीव्र आक्रोश पोखेका छन्।

उनले राष्ट्रियसभा उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निष्कृष्ट र अक्षम्य रहेको बताएका छन्।

एमालेको माधवकुमार नेपाल समूहले बादललाई मत दिएको थिएन। माधव समूहले अघि सारेका डा। खिमलाल देवकोटा विपक्षी दलहरु समेतको सहयोगमा विजयी भएका थिए।

महासचिव पोखरेलले आधिकारिक उम्मेदवारविरुद्ध यसखाले अराजक कृत्यले नेकपा एमालेभित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको दाबी गरेका छन्।

पार्टी विरूद्धमा गरिएका यी अपराधपूर्ण कामले पार्टी विधान, पद्दति, प्रक्रिया, नीति, निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो पनि उदांगो भएको उनले बताएका छन्।

आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने, कर्णालीको प्रदेशसभामा फ्लोर क्रस गर्ने, लुम्बिनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने , ‘सूर्य’ चिन्हबाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरुको गोटी बन्ने तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्ने जस्ता निर्लज्ज र अपराधपूर्ण कामहरू कम्युनिष्ट आन्दोलन र संसदीय लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय रहेका पोखरलेले बताएका छन्।

प्रकाशित मिति : ७ जेष्ठ २०७८ शुक्रबार ००:००  ६ : ५० बजे