१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

को हुन् बादललाई पराजित गर्ने डा. देवकोटा ?



काठमाडौं ।
नेकपा (एमाले) का उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार डा. खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा खिमलालले ५०८८ मत ल्याउन सफल भए । बादलले ४०१४ ल्याएर पराजित भए ।

देवकोटालाई नेकपा एमालेकै नेता माधवकुमार नेपाल समूहको पनि समर्थन थियो । संघीयताविज्ञ देवकोटा नेता नेपालनिकट मानिन्छन् । तर उनी अहिले स्वतन्त्र पक्षबाट उम्मेदवार थिए।

को हुन् देवकोटा ?

देवकोटा कास्कीबाट बारा बसाइँ उनी बाराको कोल्हवी नगरपालिकाका स्थायी बासिन्दा हुन् । देवकोटा पेशाले अधिवक्ता हुन् । मधेस आन्दोलनका क्रममा कलैयास्थित घर आगजनी भएपछि विस्थापित भएका थिए । उनी अहिले एमालेसम्बद्ध कानुन व्यवसायीहरुको संगठन पिपिएलएका केन्द्रीय सचिव छन् ।

खिमलाल राजनीतिक रुपमा पञ्चायतकालमा तत्कालीन नेकपा मालेसम्बद्ध अखिल (पाँचौं) को बारा जिल्ला कमिटीमा लामो समय काम गरेका व्यक्ति हुन् । उक्त जिल्ला कमिटीमा एकबहादुर श्रेष्ठ अध्यक्ष थिए ।

अहिले उनी एमालेको खुला मोर्चाका रूपमा रहेको पेशागत महासंघमा आवद्ध छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट सन् २०१४ मा संघीय अर्थशास्त्रमा विद्यावारिधी गरेका हुन् । त्यसअघि उनले साइप्रसबाट वित्तीय अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए ।

अध्ययनकालपछि उनी केही समय स्थानीय विकास मन्त्रालयअन्तर्गत झोलुङ्गे पुलसम्बन्धी परियोजनामा सम्बद्ध रहे । ०७२ सालमा केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा असुरक्षित तुइनलाई झोलुङ्गे पुलले विस्थापन गर्नुपर्ने अवधारणा उनैले अगाडि सारेका हुन् ।

०७४ को प्रदेशसभा निर्वाचनपछि उनी बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष नियुक्त भए । तर, पार्टीभित्रको आन्तरिक खिचातानीका क्रममा माधव नेपाल पक्षमा लागेको भन्दै मुख्यमन्त्री डोरमणि पौडेलले असहयोग गरेपछि राजीनामा दिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८ बिहिबार ००:००  ५ : ५५ बजे