काठमाडौं ।
नेकपा एमालेको स्थायी समिति बैठकले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई मत नहालेको विषयलाई गम्भीरतापूर्वक लिने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको स्थायी समिति बैठकले पार्टीको उम्मेदवारलाई मतदान नगर्ने र विरोध गर्नेहरूको भर्त्सना गरेको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
‘उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गर्दै कतिपय नेताहरूले जुन ढंगका क्रियाकलाप गर्नुभयो, त्यसलाई बैठकले अत्यन्त गम्भीरतापूर्वक लिँदै पार्टीका आधिकारिक उम्मेदवारको विरोध गर्ने, विपक्षमा मतदान गर्ने कुराको भर्त्सना गरेको छ,’ ज्ञवालीले भने।
एमालेको तर्फबाट राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रत्याशी थिए। विपक्षी गठबन्धनले माधवकुमार नेपालनिकट खिमलाल देवकोटालाई उम्मेदवार बनाएका थिए। प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बादललाई भोट हाल्न आह्वान गरेका थिए। उनले पार्टीका उम्मेदवारलाई भोट नहाले सैह्य नहुने चेतावनी दिएका थिए। बिहीबार भएको निर्वाचनमा एमालेका कतिपय प्रदेश सांसद तथा स्थानीय तहका प्रमुखर उपप्रमुखले देवकोटाको पक्षमा मत दिएको बताइएको छ।
बादललाई मत नहाल्ने कदमले पार्टी एकतालाई नै असर पुर्याउँछ कि भन्ने पत्रकारको प्रश्नमा ज्ञवालीले त्यो धेरै गम्भीर कुरा हुने बताए। ‘किनभने, त्यसभन्दा अघि गरिएका कुराहरूलाई त, विवाद सुरु भइसकेको थिएन। कार्यदल बनिसकेको थिएन भनेर एक ढंगले हेर्न सकिएला। जेठ २ लाई ‘कट अफ डेट’ मानौं। जेठ २ मा कार्यदल बनिसकेपछि त्यसभन्दा अगाडि र पछाडिका कुरालाई एउटै आँखाबाट हेर्न मिल्दैन। एउटै स्टान्डर्डबाट हेर्न मिल्दैन। यो विषयलाई हामीले असाध्यै गम्भीरतापूर्वक लिएका छौं,’ ज्ञवालीले भने।
यसअघि एमालेभित्रको विवाद समाधानका लागि एमालेले १० सदस्यीय कार्यदल बनाएको थियो। कार्यदलको बैठक आज साँझ ५ बजेका लागि तय भए पनि बस्नेरनबस्ने निश्चित छैन।
यस्तो छ प्रेस वक्तव्य
नेकपा (एमाले) स्थायी कमिटीको पाँचौं बैठक आज ६ जेठ २०७८ मा पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा बस्यो । बैठकले देहायका निर्णयहरु गरेको छः
१. बैठकले पार्टी केन्द्रीय सदस्य एवं पूर्व सांसद कमरेड योगनारायण यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । उहाँको निधनबाट तराई-मधेसले एकजना सक्रिय र सम्भावनायुक्त नेता गुमाएको निष्कर्षका साथ बैठकले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
२. अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीले कोभिड महामारीको बढ्दो प्रकोप र यसका विरुद्ध सरकारले गरिरहेका प्रयासहरुका सम्बन्धमा बैठकलाई जानकारी गराउनु भयो । बैठकले सरकारका प्रयासहरु सकारात्मक रहेको निष्कर्षका साथ कोभिड महामारीका विरुद्ध बाह्य सहयोग जुटाउन, अक्सिजन, अत्यावश्यक औषधी र स्वास्थ्य सामग्रीहरुको कुनै कमी हुन नदिन, एकीकृत ढङ्गले कोभिडविरुद्ध लड्नका लागि आवश्यक कानुनी र संरचनाको व्यवस्था गर्न एवं जनताको जीवनरक्षाका लागि कुनै कमी रहन नदिन सुझाव दिएको छ ।
३. बैठकले आज बागमती प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा देखापरेका पार्टीको निर्देशनविपरीत पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भत्र्सना गरेको छ ।
प्रतिक्रिया