हेटौडा ।
राष्ट्रियसभा सदस्य पदका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा एमालेको आधिकारिक उम्मेदवार आफू भएकाले जित सुनिश्चित रहेको बताएका छन् ।
बिहीवार हेटौँडामा बागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्य पदका लागि हुने उपनिर्वाचनमा बादललाई एमालेले उम्मेदवार बनाएको छ । बुधबार दिउँसो हेटौँडा आएका बादलले आफू एमालेको आधिकारिक उम्मेदवार भएकाले एमालेका सबै मतदाताले आफूलाई भोट दिने दाबी गरे ।
‘म एमालेको आधिकारिक उम्मेदवार हुँ । एमालेको सबै भोट मलाई आउँछ । मेरो जित सुनिश्चित छ,’ बादलले भने । बादलसँगै प्रतिस्पर्धामा नेकपा एमालेकै माधव नेपाल पक्षका डा. खिमलाल देवकोटा पनि छन् । देवकोटालाई समर्थन गरेको कांग्रेस र नेकपा माओवादी केन्द्रबाट नै भोट नआउने बादलले बताए ।
‘कांग्रेस र माओवादीको आधिकारिक उम्मेदवार छैन । साझा उम्मेदवार भएकाले कांग्रेस र माओवादीभित्रै पनि विवाद छ । त्यहाँबाट पनि मलाई मत आउने निश्चित छ ,’ बादलले भने ।
गृहमन्त्री बादलले एमालेको एकल बहुमत रहेको आफू जितप्रति ढुक्क रहेको प्रतिक्रिया दिए । उनले माधव नेपालसँग उपनिर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह गरेको भन्दै नेपालबाट पनि सहयोग पाउने बताए ।
‘माधवजीसँग कुराकानी भएको छ । उहाँले सहयोग गर्ने बताउनु भएको छ’, उनले भने । उनले राप्रपाले वक्तव्य नै जारी गरिसकेको कारण आवश्यकताभन्दा बढी मत प्राप्त गर्ने बादलको भनाइ छ ।
प्रतिक्रिया