१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सर्पले टोक्दा पनि बाँचेका सर्प संरक्षणकर्मी कतिला अन्ततः ‘कोरोना’सँग हारे



काठमाण्डौँ ।

फेवाताल किनारको फिस्टेल लजमा २०७३ साल साउनमा सेतो गोमन देखियो । जिल्ला वन कार्यालय हुँदै त्यो खबर सर्प संरक्षणकर्मी महेन्द्र कतिलासम्म पुग्यो । उनी सर्प देखिएको ठाउँमा पुगे । त्यहाँ सर्पसँगै १९ वटा अन्डा थियो ।सर्पलाई झोलामा हाल्दै थिए, देब्रे हातमा टोकिहाल्यो । गोमनले टोके पनि विष नछोडेकाले उनको स्वास्थ्यमा ठूलो समस्या भएन । दुई दिनमै अस्पतालबाट डिस्चार्ज भए अनि फेरि सर्प संरक्षणमै लागे ।

फिस्टेलबाट समातेको सेतो गोमनलाई रानी वनमा महेन्द्र स्वयंले छोडे ।पोखरामात्रै होइन उनी देशका विभिन्न सहर पुगे सर्प संरक्षण गर्न । अब भने महेन्द्रको हँसिलो अनुहार सर्प उद्धार गरिरहेको भेटिने छैनन् ।सर्प संरक्षणमै जीवन व्यतित गरेका ६१ वर्षीय कतिलाको कोरोना संक्रमणबाट चितवनस्थित क्यान्सर अस्पतालमा सोमबार निधन भयो ।

कतिलाको निधनले संरक्षणकर्मीले अभिभावक गुमाएका छन् । कतिला सर्प संरक्षण समाज नेपालका अध्यक्ष हुन् । उनको सर्प मोह देखेर ऋषि बराल निकै प्रभावित छन् ।‘उहाँ सर्पप्रति एकदमै मरिहत्ते गर्ने मान्छे हो नि । अझ किङ कोब्रा सबैभन्दा बढी मनपर्ने सर्प । देशको जुन ठाउँमा त्यो सर्प भेटिए पनि सकेसम्म गइहाल्ने,’ समाजका सदस्य बरालले सुनाए, ‘सर्पसँग फोटो खिच्न पाए झन् खुसी हुने ।’

महेन्द्रको किङ कोब्रा मोह कति छ भन्ने ऋषिसँगको पहिलो भेटले प्रष्ट्याउँछ । सन् २०१५ मा ऋषिले पोखराको सराङकोटमा राज गोमनले हर्रेउ खाएको फोटोरभिडिओ खिचेका थिए । ऋषिकै स्कुले साथी हुँदै त्यो भिडियो महेन्द्रसम्म पुगेछ । त्यसपछि महेन्द्र ऋषिलाई खोज्दै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को पोखरा नयाँगाउँस्थित कार्यालय पुगे ।


‘साथीसँग नम्बर मागेर उहाँ एक्यापको कार्यालयमै आउनुभयो । उहाँले म सर्प समाउँछु, उद्धार गर्छु भनेर फोटो देखाउनुभयो,’ ऋषि महेन्द्रसँगको पहिलो भेट सम्झन्छन्, ‘म पनि सर्पप्रति चासो भएको मान्छे । किङकोब्रा त खतरनाक हुन्छ नि । यस्तो समाउने मान्छे भनेपछि मलाई निकै रमाइलो लाग्यो ।’महेन्द्रले ऋषिलाई सर्प संरक्षकको संस्था बनाएर अगाडि बढ्न प्रस्ताव गरे । राम्रै प्रस्ताव भएकाले ऋषिले पनि त्यसलाई स्वीकारे । त्यसपछि २०७३ सालमा कतिलाकै अग्रसरतामा चितवनमा देशभरका सर्प संरक्षकको दुई दिने भेला भयो । त्यही भेलाले कतिलालाई सर्प संरक्षण समाज नेपालको अध्यक्ष चुन्यो ।

भेला कसरी आयोजना गर्ने भन्नेबारे महेन्द्रले त्योबेला पंक्षी संरक्षणकर्मी राजु आचार्यसँग पनि छलफल गरे । संरक्षणकर्मी राजु देशले ‘सर्पको नागरिक वैज्ञानिक’ गुमाएको टिप्पणी गर्छन् । ‘उहाँलाई सर्पको नागरिक वैज्ञानिक भन्दा फरक पर्दैन । उहाँको पढाइ–लेखाइ नभए पनि सर्पको बारेमा उहाँको ज्ञान कुनै पढे लेखेको मान्छको भन्दा कम थिएन,’ राजुले महेन्द्रको विशेषता सुनाए । उनलाई सर्प संरक्षणकर्मीहरू महेन्द्र दाइ भनेर चिन्थे ।महेन्द्र सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने ऐन्टिभेनम नेपालमै उत्पादन गर्न चाहन्थे । ‘संस्थामार्फत नै एन्टिभेनमका लागि पहल गर्नुभएको थियो । एउटा सानो संस्थाले मात्रै त्यो अर्बौँको प्रोजेक्टमा पहल गरेर हुँदैन,’ राजुले भने ।

एन्टिभेनममा काम गर्ने योजना अधुरै रहे पनि महेन्द्रकै सक्रियतामा स्थापित संस्थाले मेलारमहोत्सवमा सर्पको प्रकारबारे जानकारी गराउने, क्याम्पसका विद्यार्थीलाई सर्पबारे बुझाउने काम संस्थाले गर्यो ।अध्यक्ष कतिला यो काममा अझ बढी सक्रिय थिए । सर्प समाउने कतिलाई सर्प विषालु होरहोइन भन्ने थाहा पाउँदैनन् । कतिला आफैँ बुझाउन कस्सिन्थे । ‘जसले समातेको छ उसलाई भेटेर सर्पबारे बुझाउनुहुन्थ्यो । पोखरामा हामी प्रायः सँगै हुन्थ्यौँ । पोखरा बाहिरको साथीहरुलाई उहाँले अझ ट्र्याकमा ल्याउनुभयो,’ सर्प संरक्षणकर्मी ऋषिले सुनाए ।

नेपाली समाजमा सर्प देखेपछि डराउने, मार्न खोज्ने प्रचलन अझै पनि छ । महेन्द्र सर्पसँगको डर हटाउन आफूले समातेको अविषालु सर्प आफैँ टोकाएर देखाउँथे । सर्प जोगाउने भनेपछि जुन ठाउँमा पनि पुग्ने बानी ६ वर्षको चिनजानमा आफूलाई सबैभन्दा बढी मन परेको ऋषि सुनाउँछन् । ‘सर्प घरमा छिर्यो, कतै देखियो भनेपछि जहाँ पनि पुग्ने,’ ऋषिले थपे, ‘२५ सय तीन हजार सर्पको उद्धार गर्नुभयो होला । कतिले टोक्यो टोक्यो । अविषालु भएकाले खासै जोखिम भएन ।’ ऋषिका अनुसार सर्पले मान्छेलाई टोक्दा विष छोड्यो भने भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था आउँछ । तर, कतिलालाई सर्पले पटकपटक टोके पनि अविषालु भएकाले त्यस्तो अवस्था आएन ।

१४ वर्ष हुँदा उनले पहिलोपटक सर्पको उद्धार गरेका थिए । आफ्नै घरमा सर्प पसेको देखेपछि उनले त्यसलाई छोए, केही नगरेपछि समातेर घर नजिकै खुला ठाउँमा छोडिदिए । २०५१ सालमा दाङबाट पोखरा फर्किँदा उनलाई भतिजले आफूले घरमै सर्प पालेको सुनाए । भतिजसँग रहेको सर्प सम्बन्धी किताब अध्ययन गरे, जानकारलाई भेटे ।अध्ययनले नै उनलाई सर्पसँग अझै नजिक बनायो । ‘विषालु सर्पसँग खेल्नु भनेको जिन्दगीसँग खेल्नु हो । तर सर्प देख्नेबित्तिकै डराउनु पर्दैन । सबै सर्प खतरनाक हुँदैनन्।।।’ कतिला सर्पसँग डराउनेलाई सम्झाउँथे ।

लमजुङ घर भएका कतिला दुई वर्षअघिसम्म पोखरा ४ गैह्रापाटनमा बस्थे । पछिल्लो दुई वर्षयता उनी दाङमा मौरीपालनमा सक्रिय थिए । दाङमा पनि उनी सर्प संरक्षणमा खटिए । उद्धारको क्रममा सर्पले पटकपटक टोक्दा पनि उनलाई केही भएन । तर, कोरोनाले उनलाई लग्यो । स्वास्थ्यमा समस्या भएपछि कतिलालाई दाङबाट उपचारका लागि भरतपुर ल्याइएको थियो । त्यहाँ ल्याएको तीन दिनमै उनले अन्तिम सास फेरे । मृत्युको दुई दिनअघि कतिलाले फेसबुकमा लेखेका थिए, ‘लापरबाहि नगर्नुस है १ बडो कष्ट पो हुँदो रहेछ कोरोना पोजेटिभ भएर बस्नुपर्दा । शारीरिक कष्ट उस्तै, महँगो उस्तै, सामाजिक अप्ठेरो उस्तै । कोहि भेट्नै नखोज्ने, भूत भेटे जस्तो पो गर्छन् ।’

प्रकाशित मिति : ५ जेष्ठ २०७८ बुधबार ००:००  ८ : ४२ बजे