११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

चीन र कतारसँग अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय



काठमाण्डौँ ।

सरकारले दुई देशसँग अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको वर्तमान सरकार गठनपछिको पहिलो मन्त्रिपरिषद्को बैठकले चीन र कतारसँग हवाई उडान खोल्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले कतारको दोहा र चीनको ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको एक मन्त्रीले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोरोना भाइरसविरुद्धका स्वास्थ्य सामग्री ल्याउन समस्या भएको निष्कर्ष निकाल्दै यी देशमा सातामा एउटा उडान गर्ने निर्णय भएको हो ।

सरकारले नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिएको भन्दै २३ वैशाखदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशमा हजारौँ नेपाली अलपत्र पर्न थालेका छन् ।

बैठकमा कोरोना महामारीको रोकथाम तथा नियन्त्रणको समीक्षा पनि भएको थियो । त्यस्तै, उपचार र सेवाका लागि अत्यावश्यक भौतिक र कानुनी पक्षहरूबारे पनि बैठकमा छलफल भएको थियो । कानुनी जटिलताका विषयमा कानुन मन्त्रालयले अध्ययन गर्ने जिम्मा दिएको बताइएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८ मंगलबार ००:००  ६ : २१ बजे