काठमाडौं ।
आउँदो जेठ १७ गते लुम्बिनी प्रदेश अन्तर्गत हुने राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी मनोनयन मंगलबार हुदैछ । निर्वाचनका लागि एमालेले चन्द्रबहादुर खड्कालाई नै उम्मेदवारको रुपमा अघि सारेको छ ।
माओवादीले एमाले प्रवेश गरेका कारण खड्कालाई कारबाही गर्दा उक्त स्थान रिक्त भएको थियो । एमालेले उनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको एमाले प्रतिनिधि सभा संसदीय दलका सचेतक विशाल भट्टराईले जानकारी दिए ।
यस्तै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले भने दुगनारायण पाण्डेयलाई उम्मेदवार बनाउने भएको छ । उनी वैशाख १९ गते एमाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए ।
पाण्डेयलाई नै उमेदवार बनाउने निर्णय भएको कांग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडियाले जानकारी दिए । लुम्बिनीमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय ९६ मतदाता छन् ।
जसमा प्रदेशसभा सदस्य ७९ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २ सय १७ जना मतदाता छन् ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ हुन्छ । लुम्बिनीमा एमालेभन्दा गठबन्धनको उम्मेदवारको सम्भावना बलियो रहेको स्थानीय नेताहरुको भनाइ छ ।
प्रतिक्रिया