११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

प्रदेश सांसदबाट पदमुक्त भएका लुम्बिनीका चार मन्त्रीको रिटमा सुनुवाइ हुँदै



बुटवल ।


प्रदेश सभा सदस्यबाट पदमुक्त भएपछि जसपाका चार नेताले सवोच्च अदालतमा दायर गरेको रिटमा सोमबार सुनुवाइ हुँदै छ । पदमुक्त हुनु अघि जनता समाजवादी पार्टीबाट सांसद रहेका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेको रिट आइतवार दर्ता भएको थियो । उक्त रिट न्यायधिस नहकुल सुवेदीको इजलाशमा सुनुवाइ हुन लागेको हो ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै प्रदेश सरकारमा जसपाका चार जना मन्त्री भएका थिए । कल्पना पाण्डे बाहेक ३ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर समेत गरेका थिए । मन्त्री भएका चार जनालाई जसपाको अध्यक्ष उपेन्द्र यादव पक्षले एकलौटी निर्णय गरेर पदमुक्त गरेको थियो ।

उक्त निर्णयपछि जसपामा विवाद बढ्दै गएको थियो । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले सांसद हटाउने पार्टीले कुनै निर्णय नगरेको दाबी गर्दै आएका छन् । तर यादव र बाबुराम भट्टराईले आफू पक्षीय बहुमत केन्द्रीय कार्यकारिणी परिषदका सदस्यको हस्ताक्षरबाट दल त्याग गरेको भन्दै सांसद पदबाट मुक्त गर्न वैशाख १६ गते लुम्बिनी प्रदेशसभालाई पत्र पठाएका थिए। पत्र प्राप्त गरे लगत्तै प्रदेशसभा सचिवालयले सांसदहरु मुक्त भएको सूचना जारी गरेको थियो ।

प्रदेश सभा सदस्यबाट पदमुक्त भएपछि गत वैशाख १९ गते नै उनीरुले सर्वोच्च अदालतमा पद पुनःबहालीको माग गर्दै निवेदन दिएका थिए । तर कोरोना र बन्दीप्रत्यक्षीकरण बाहेकका रिट दर्ता नहुने सर्वोच्चको निर्णयका कारण पेश मात्रै भएको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८ सोमबार ००:००  १२ : ५३ बजे