मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका अक्सिजन प्लान्ट निर्माणमा जुटेको हो । कोरोना भाइरसको दोस्रो महामारीले अक्सिजन आपूर्तीमा असहज भएपछि वाणगंगा आफै अक्सिजन प्लान्ट निर्माणमा जुटेको हो ।
आइतबार बसेको नगर कार्यपालिकाको आकस्मिक बैठकले अक्सिजन प्लान्ट निर्माणका लागि वडा नं. ४ का वडाध्यक्ष गशेण बहादुर क्षेत्रीको संयोजकत्वमा ५ सदस्यिय कार्यदल गठन गरेको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।
जसको सदस्यहरुमा वडा नं. २ का वडाध्यक्ष तथा नगर प्रवक्ता विष्णु पौडेल, वडा नं. ८ का वडाध्यक्ष गुणनिधी भुसाल, वडा नं. ९ का वडाध्यक्ष ध्रुव बेल्वासे र सदस्य सचिवमा शाखा अधिकृत केशवराज भट्टराई रहनु हुने उहाँले जनाउनुभयो ।
अक्सिजन प्लान्ट निर्माणमा वाणगंगा नगरपालिकासंगै कपिलवस्तु सामुदायिक अस्पताल र पिपरा अस्पताल पनि साझेदारी हुने पनि नगर प्रवक्ता पौडेलले बताउनुभयो ।
साथै नगर कार्यपालिकाको बैठकले अबको एक हप्ता भित्र १ हजार जनाको पिसीआर परिक्षण गर्ने निर्णय गरेको छ । कोरोनाको भयावह स्थिति रहेको बेला वाणगंगाले यति धेरै संख्यामा पिसीआर परिक्षण गर्न लागेको हो ।
यस्तै नगरपालिका भित्र अब एकद्धार प्रणालीबाट सहयोग गर्ने व्यवस्था मिलाएको छ । कुनै पनि व्यक्ति तथा संघ संस्थाले आफु खुसी सहयोग गर्न नपाउने गरी जिन्सी सहयोग नगरको जिन्सी शाखाबाट र आर्थिक सहयोग राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोभिड व्यवस्थापन कोषको खाता नं. ०४१५६०१६०९१७७०११ बाट गर्न व्यवस्था मिलाएको छ ।
प्रतिक्रिया