११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

नेपाल सुपर लिगः उपाधिका लागि आज काठमाडौं र धनगढी भिड्दै



काठमाण्डौँ ।

नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज (शनिबार) प्रतिस्पर्धा हुदैछ । पहिलो संस्करणको उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुन लागेको हो ।काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।प्रतियोगिताको फाइनल अघि दुबै टिमका कप्तान र प्रशिक्षक उपाधि जित्ने योजनासहित मैदान उत्रने बताईसकेका छन् ।

काठमाडौंका प्रशिक्षक बाल गोपाल महर्जनले धनगढीलाई पराजित गर्दै घरेलु मैदानमा उपाधि हात पार्ने योजना रहेको उल्लेख गरे । ‘लिग चरण र सेमिफाइनल ९प्लेअफ० मा हार भएको थियो । त्यो खेलमा भएको कमीकमजोरीलाई सुधार गर्दै उपाधि घरमै राख्ने योजना साथ खेल्छौं ।’ फाइनलका अघिल्लो दिन प्रशिक्षक महर्जनले भने ।

उनले अघिल्ला दुई खेलमा धनगढीसँग पराजित भएको उल्लेख गर्दै तेस्रो भेटमा भने बदला लिने सुनौलो अवसर रहेको बताए । ‘तेस्रो खेलमा प्रमणित गर्ने सुनौलो अवसर रहेको छ । घरमा जितेर उपाधि राख्न भरपुर मेहनत गर्नेछौं ।’ प्रशिक्षक महर्जनले थपे ।

दुवै टोली प्रतियोगितामा तेस्रो पटक भिड्न लागेका हुन् । यसअघि लिग चरण र पहिलो प्लेअफमा भिडेका दुई टोली फाइनलमा पनि भिड्ने पक्का भएको हो । दुबै भेटमा काठमाडौं धनगढीसँग पराजित भएको थियो । फाइलनमा घरेलु मैदानमा काठमाडौंलाई धनगढीविरुद्ध दुई हारको बदला लिने अवसर रहेको छ ।

काठमाडौंका मार्की तथा कप्तान विकेश कुथुले दुई खेलको हारबाट पाठ सिकेको र फाइनलमा जित्ने योजना सहित खेल्ने बताए । ‘लिगमा उतार चढाब भयो । पाठबाट सिकेर फाइनल सम्म पुगेका छौं । उपाधि जित्ने हिसाबले खेल्छौं ।’ कुथुले भने ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटीलाई पराजित गर्दै काठमाडौं फाइलनमा पुगेको हो । त्यसअघि पहिलो क्वालिफायरमा काठमाडौं धनगढीसँग अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित भएको थियो ।

अघिल्ला दुई खेलमा विजयी धनगढी उच्च मनोबलको साथ फाइनल खेलमा मैदान उत्रने बताउँछ । ‘दुई भेटमा काठमाडौंलाई पराजित गरिसकेका छौं । प्रतिद्वन्दीलाई सम्मान गर्दै उपाधिका लागि खेल्छौं ।’ धनगढीका नाइजेरियन प्रशिक्षक तोपे फुजाले भने ।

उनले टोलीको रिकभरी समय रहेकाले फाइनलमा चोटको समस्या नभएको बताए ।धनगढीका आईकोनिक खेलाडी तथा कप्तान किरण कुमार लिम्बुले फाइनल खेल निकैनै प्रतिस्पर्धात्मक हुने उल्लेख गर्दै प्रतिद्वन्दीलाई सम्मान गर्दै उपाधिका लागि खेल्ने प्रतिक्रिया दिए ।

‘तेस्रो भेट हो । यहाँसम्म आउँदा कहिल्यै सहज भएन । फाइनल खेल समेत निकैनै प्रतिस्पर्धात्मक हुन्छ । काठमाडौंलाई सम्मान गर्छौ । बिश्वास छ उपाधि जित्नको लागि खेल्छौं ।’ राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान समेत रहेका किरणले भने ।

फाइनलमा दुबै टोलीको अट्याकिङ लाइन बलियो देखिन्छ । धनगढीका स्ट्राइकर ओलावाले आफिजले ४ गोल गरेका छन् । काठमाडौंका मेसौके ओलोमेउले ७ गोल गरिसकेका छन् । मेसौके प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो र एक्ला खेलाडी हुन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७८ शनिबार ००:००  ६ : ४४ बजे