१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

अस्पताल संचालक नै अक्सिजन खोज्दै मध्यरातमा सिडिओसंगको हारगुहारमा, रुपन्देहीमा भयो यस्तो




बुटवल ।

सरकारले अस्पतालहरुलाई अक्सिजन कमी हुन नदिने बताइरहेको बेला भैरहवामा भएका बिभिन्न घटनाले उदासिनता देखाएको छ । दुई सय बिरामी उपचाररत रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा अक्सिजन अभाव भएको भन्दै अस्पताल सञ्चालकहरु राति १२ बजे गुहार माग्दै प्रमुख जिल्ला अधिकारीको निवास अगाडि पुगेपछि यो अवस्था देखिएको हो । । तर सिडिओबाट रेस्पोन्स नआएको भन्दै अस्पतालको अर्को टोली अक्सिजन खोज्दै छिपागढस्थित शंकर ग्यास उद्योगतर्फ दौडियो ।

गएराति सवा १२ बजेसम्म सिडिओ कार्यालयको मुख्य गेट अगाडि उभिएका अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको फोन नउठेको र अंगरक्षकमार्फत् खबर पठाउँदा पनि रेस्पोन्स नआएको गुनासो गर्दै थिए । गुरुङका अनुसार अक्सिजन लिन चितवन गएको अस्पतालको गाडी फर्किने बेला स्थानीय प्रशासनले रोकिदियो ।

१५० वटा जम्बो अक्सिजन सिलिण्डर बोकेको गाडी चितवनबाट आउने–नआउने निश्चित नभएपछि अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कमल ढकालसहितको अर्को एक टोली अक्सिजन खोज्दै छिपागढस्थित शंकर ग्यास उद्योगमा पुगेको थियो।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले आफूले चितवनसँग समन्वय गरेरै अक्सिजन अस्पतालसम्म ल्याइपु¥याइएको बताए । ‘कास्कीबाट पनि थप एक सय सिलिण्डर आयो,’ उनले भने । यद्यपि अस्पताल सञ्चालक भने यसबाट तत्कालको लागि सम्भावित जोखिम टरे पनि दीर्घकालीन रूपमा समस्याको समाधान अझै हुन नसकेको बताउँछन् ।

युनिभर्सल मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत कमल ढकालले चितवनबाट ल्याइएको अक्सिजनले १५० मिनेटसम्म मात्र धान्ने भन्दै संकट टरिनसकेको बताए । ‘हाम्रो अस्पतालमा हाल ६५० अक्सिजन सिलिण्डर खपत भइरहेको छ । आपूर्तिको सुनिश्चितता चार सय पनि छैन,’ ढकालले भने, ‘अक्सिजनको तनावले हामी चार दिनदेखि सुतेका छैनौं ।’

स्थानीय उद्योगबाट चार सय २० र बाहिरबाट २ सय सिलिण्डर आपूर्तिका लागि अस्पतालले सम्झौता गरे पनि सो परिमाणमा अक्सिजन अस्पतालमा नआउने गरेको उनको भनाइ छ । ‘सम्झौता अनुसारको अक्सिन आइपुग्दैन, बीच बाटोबाटै कहाँ जान्छ–जान्छ,’ उनले भने ।

युनिभर्सल मेडिकल कलेजमा कोभिड र ननकोभिड गरी हाल २ सय जना बिरामी उपचाररत छन् । तीमध्ये अक्सिजन चाहिने खालका १ सय ८० जना बिरामीहरु रहेको ढकालले बताए । उनका अनुसार कोभिडका बिरामीमात्रै ९० जना छन् । ४० जना बिरामी भेन्टिलेटरमा र ७० जना आइसियूमा छन् ।

युनिभर्सल मेडिकल कलेजले १० दिन अगाडि पनि जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारलाई पत्र लेखेर अक्सिजन अभावबारे जानकारी गराएको थियो । अक्सिजनको समस्या नसुल्झिएपछि एक हप्ता अगाडि पनि सूचना जारी गरेर नयाँ बिरामी भर्ना बन्द गरिएको जानकारी दिएको थियो ।

कोरोना संक्रमित बिरामी बढेसँगै धेरै अस्पतालहरुले अक्सिजन आपूर्ति सहज हुन नसकेको भन्दै नयाँ बिरामी भर्ना नलिने घोषणा गरिसकेका छन् । भक्तपुर इन्टरनेशन अस्पतालमा दुई जनाले र दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्थायी अस्पतालमा एक जनाले अक्सिजन अभावकै कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७८ बुधबार ००:००  १० : २५ बजे