१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोनाले दिएको पीडाः किलोको ३ रुपैयाँमा पनि बिकेन टमाटर !



दाङ ।

दाङमा किसानले उत्पादन गरेको टमाटर तीन रुपैयाँ किलोमा समेत बिक्री हुन छाडेको छ। टमाटर बिक्री नभएर किसानको खेत बारीमै कुहिन थालेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं। १३ बखरियाका किसान शिशिर रावतले आफूले उत्पादन गरेको टमाटर तीन रुपैयाँ किलोमा लैजाउ भन्दा समेत ब्यापारीले लैजान नमानेको बताए। टमाटरको मुख्य सिजनमै बिक्री नभएपछि खेतबारीमै कुहिन थालेको उनले बताए। ‘करिब दश कठ्ठा क्षेत्रफलमा हामीले टमाटर खेति गरेका थियौं,’ रावतले भने ‘अहिले टमाटर बोटमै पाकेर कुहिन थालेको छ, तर किन्न कोही आउँदैन।’

बखरिया गाउँमा मात्रै किसानले गरेर २५ बिघा जति क्षेत्रफलमा टमाटर खेती गरेको र सबै किसानको खेतबारीमा टमाटर बिक्री नभएर बोटमै कुहिन थालेको रावतले बताए। ‘अहिलेको अवस्थामा किसानले ठूलो क्षति ब्यहोर्नुपर्ने अवस्था देखिएको छ,’ रावतले भने ‘हाम्रो मिहेनत र मल तथा बिउबिजन खरिद गर्दा भएको खर्च पनि उठ्ने अवस्था छैन।’ त्यस्तै घोराही उपमहानगरपालिका वडा नं १० मा विद्यालयको जग्गा भाडामा लिएर १० बिघा बढी क्षेत्रफलमा टमाटर लगायत तरकारी खेती गरिरहेका महेन्द्र खड्काले खेतबारीमै कुहिएर नाश भएको बताए।
‘निषेधाज्ञाले हामीजस्ता किसानको उठिबास लगाउने अवस्था छ,’ उनले भने ‘ मुख्य सिजनमै हामीले उत्पादन गरेको टमाटर र तरकारी बिक्री नभएर बारीमै कुहिन थालेको छ।’

उनले बजार लैजान नपाउँदा लाखौंको तरकारी नष्ट हुने अवस्था आएको भन्दै चिन्ता जनाए। ‘हामी किसानका दुःख पीडा बुझ्ने कोही भएन,’ उनले भने ‘बारीमै टमाटर कुहिएको देखेर मन रुन्छ।’ कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिएपछि त्यो रोकथाम र नियन्त्रणका लागि भनेर स्थानीय प्रशासनले वैशाख १७ गते बिहान ६ बजेदेखि जिल्लामा निषेधाज्ञा जारी गर्दै आएको छ। पछिल्लो सयम फेरि त्यो अवधि बढाएर जेठ १ गतेसम्म पुर्याइएको छ।

प्रकाशित मिति : २८ बैशाख २०७८ मंगलबार ००:००  २ : २१ बजे