१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

माधव नेपालले नयाँ पार्टी बनाए त्यसमा सामेल हुने वामदेवको घोषणा



काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव नेपाल पक्षले पार्टी विभाजन गरे आफू त्यसमा सहभागी हुने धारणा सार्वजनिक गरेका छन् । अध्यक्ष केपी ओलीसँगको छलफलपछि दुई बुँदे धारणा सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई जेठ २ सम्मको निर्णय मानेर अगाडि बढ्न प्रस्ताव गरेकोमा ओलीले आफू त्योभन्दा धेरै अघि बढिसकेको जवाफ दिएका थिए । यसको प्रतिउत्तरमा उपाध्यक्ष गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्ने जवाफ दिएका थिए ।

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले लेखेका छन्
नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क. वामदेव गौतमले समसामयिक सन्दर्भमा दुईवटा धारणा स्पष्ट पार्नुभएको छ ।

१. अध्यक्ष कमरेडसँगको कुराकानीबारे
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी शर्मा ओलीसँग उहाँले नेकपा ९एमाले० को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, क। अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’ यसको प्रतिउत्तरमा उपाध्यक्ष वामदेव गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्नुभएको हो ।

२. क. माधव नेपालहरुका सन्दर्भमा
वरिष्ठ नेता क। माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा ९एमाले० मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।

प्रकाशित मिति : २८ बैशाख २०७८ मंगलबार ००:००  ७ : २८ बजे