काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त नभए मार्गप्रशस्त गर्ने बताएका छन्। आज प्रतिनिधि सभामा विश्वासको मत राख्ने प्रस्ताव गरेका ओलीले उक्त प्रस्तावमाथिको छलफलमा भाग लिएका सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै विश्वासको मत नआए मार्गप्रशस्त गर्ने बताएका हुन्। ‘मैले सरकारको नेतृत्व गर्न जरुरी छ कि छैन संसदले आदेश दियोस्। छैन भने संसदको आदेशसँगै मार्गप्रशस्त हुन्छ। यसमा जालझेल षड्यन्त्र हुन्न,’ प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओलीभन्दा अघि बोलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कतै प्रधानमन्त्रीले फेरि संसद विघटन गर्न लागेको त होइन भन्ने प्रश्न गरेका थिए।
त्यसतर्फ जवाफ दिएका प्रधानमन्त्री ओलीले मार्गप्रशस्त गर्ने बताए। अहिले प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीको प्रस्तावमाथि मतदानको प्रक्रिया सुरू भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई(उपेन्द्र यादव पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने प्रष्ट पारेका छन्। जसपाको महन्थ ठाकुर पक्ष भने तटस्थ बस्ने भएको छ। राष्ट्रिय जनमोर्चाले पनि प्रधानमन्त्रीले राजीनामा दिई मार्गप्रशस्त गर्नुपर्ने बताएको छ। प्रधानमन्त्री ओलीलाई नेता माधव नेपाल पक्षका सांसदहरूले नै मत नदिने भन्दै अनुपस्थित भएका छन्। ओलीले विश्वासको मत पाउन गाह्रो हुने देखिएको छ।
प्रतिक्रिया