काठमाण्डौ ।
नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरुको बैठक सिंहदरबारमा बसिरहेको छ ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समयसीमाभित्र कुनै जवाफ नआएपछि आगामी रणनीति तय गर्न सांसदहरु छलफलमा जुटेका हुन् । २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने भन्दै नेपाल–खनाल समूहले ओलीलाई बिहान ९ बजेसम्मको समय दिएको थियो । ओलीबाट कुनै प्रतिक्रिया नआएकोले आफूहरुले राजीनामा दिने तयारी गरेको खनाल–नेपाल समूहका नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।
बसेर थप छलफल गर्नका लागि आफूहरु तयार भएको भए पनि पार्टी निकै अघि बढिसकेकोले २०७५ जेठ २ गतेको अवस्थामा फर्किने सम्भावना नरहेको एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भनाइ छ । उहाँले आफ्नै पार्टी नेतृत्वविरुद्ध गठबन्धन गर्ने अनि फेरि २०७५ को जेठ २ मा फर्केर सबै निर्णय बदर गर्नुपर्छ भन्ने माग जायज नभएको बताउनुभयो । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले आज संसदको विशेष अधिवेशनमार्फत विश्वासको मत लिदै हुनुहुन्छ ।
खनाल–नेपाल समूहले राजीनामा दिएमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन थप सकस हुने भएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा अहिले २७१ सदस्य कायम छ । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात १३६ मत प्राप्त गर्न आवश्यक छ ।
कांग्रेस र माओवादीले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदले मत दिन पाउनेछन् ।
प्रतिक्रिया