काठमाडौं ।
स्पेनिस ला लिगाको उपाधि होडमा रहेको रियल म्याड्रिड हारबाट जोगिएको छ । आइतबार राति भएको खेलमा रियलले चौथो स्थानको सेभियासँग २-२ गोलको बराबरी खेलेको हो।
दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा रियलका टोनी क्रुसको क्रसलाई सेभियाका डिएगो कार्लोसले रोक्ने क्रममा गोल भएको थियो । कार्लोसले आत्मघाती गोल गरेसँगै रियल हारबाट जोगिएको हो ।
त्यसअघि खेलको २२ मिनेटमा रेगेसले गोल गरेर सेभियालाई पहिले अग्रता दिलाए । ६७ मिनेटमा असेन्सियोले रियलका लागि बराबरी गोल फर्काए ।
७८ मिनेटमा राकिटिकले पेनाल्टीबाट गोल गरेपछि सेभिया २-१ गोलले अघि रहेको थियो । बराबरीसँगै उपाधि होडमा रहेको रियलले शीर्ष स्थानको एट्लेटिको म्याड्रिडसँग अंक बराबरी गर्ने अवसर खेर फालेको छ ।
अन्तिम तीन खेलअघि शीर्ष स्थानको एट्लेटिकोको ७७ अंक छ । दोस्रो स्थानको रियलको ७५ अंक छ भने बार्सिलोना पनि ७५ अंक जोडेर तेस्रो स्थानमा छ । चौथो स्थानको सेभियाको ७१ अंक रहेको छ ।
प्रतिक्रिया