काठमाडौं ।
नेकपा एमालेको माधव नेपाल पक्षले समानुपातिक सांसदले राजीनामा दिनेबारे छलफल नै नभएको प्रष्ट पारेको छ । केही समानुपातिक सांसदले आफूहरू राजीनामाको विपक्षमा रहेको भन्दै वक्तव्य दिन थालेपछि नेपाल पक्षले प्रत्यक्ष निर्वाचित सांसदको मात्र राजीनामाको हस्ताक्षर भएको जनाएको छ ।
एमाले केन्द्रीय सदस्य तथा कैलाली २ बाट निर्वाचित माधव पक्षीय सांसद झपट रावलले आफूहरू भोलि बिहानसम्म पनि एमालेको एकता कायम हुने विश्वासमा रहेको बताए । उनले एमाले बन्न पनि नपाउने र आफूहरुको मत लिएपछि कारवाही गर्ने तयारी रहेकाले त्यसो हुनुभन्दा राजीनामा दिनु उपयुक्त हुने निष्कर्षमा पुगिएको बताए ।
रावलले भने, ‘समानुपातिक सांसदले राजीनामा दिने कुरै भएको छैन र त्यो आवश्यक पनि छैन । जहाँसम्म हाम्रो कुरा छ, हामी एकताबद्ध एमाले चाहन्छौं । हामीलाई एमाले हुन देऊ भन्दा हिजो नेकपाको पालामा फरक मत राखेकै आधारमा एमाले हुन दिइएन ।’
रावलले माधव नेपाल पक्षले एमालेमा अहिले धेरै कुरा केही नमागेको बताए । उनले सर्वोच्च अदालतले जहाँ फर्काइदिएको हो, त्यहिँबाट शुरू गर्दा एमाले एकताबद्ध हुने दावी गरे । तर, २७ गते आफूहरूको मत लिएर २८ गते कारवाही गर्ने तयारी बुझेपछि त्यसरी अपमानित हुनुभन्दा राजीनामा दिएर बाहिरिनु बाध्यात्मक विकल्प रहेको रावलले बताए ।
उनले भने, ‘अहिले नै कारवाही गर्दा संसदमा अल्पमतमा पर्ने भएर रोकिएको हो । यसरी अपमानजनक ढंगले पार्टीबाट निष्कासन हुनुभन्दा राजीनामा दिनु उपयुक्त भयो । हामी एमालेकै सांसद भएर फ्लोर क्रस गर्न पनि चाहेनौं ।’
रावलले अहिले पनि अध्यक्ष ओलीले चाहँदा एमालेको एकता पनि जोगिने र सबै एमाले मिलेर सरकार जोगाउन लाग्न पनि सकिने बताए । -नेपाल प्रेसबाट
प्रतिक्रिया