गुल्मी ।
गुल्मीको मदाने गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ विशेष अस्पतालमा सात वर्षीय बालकले कोरोना जितेका छन्। मदाने–१ अग्लुङका सात वर्षीय बालक राजेश राउतले गाउँकै अस्थायी कोभिड अस्पतालमा कोरोनालाई जितेका हुन्। उनलाई श्वास फेर्न गाह्रो हुने र ज्वरो आएपछि अभिभावकले वैशाख २० गते स्वास्थ्यचौकी लगेका थिए। स्वास्थ्यकर्मीले कोरोनाको आशङ्कामा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो।
सोही दिन नै उनलाई गाउँपालिकाले वडा नं ४ म्यालपोखरीमा सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा भर्ना गरी गाउँपालिकाले खरिद गरेको अक्सिजन दिइएको थियो। अन्य भिटामिनको सहायताले कोरोना निको भई पाँचौँ दिनमा उनलाई शनिबार साँझ डिस्चार्ज गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक तीर्थराज पन्थीले बताए।
कोरोना सङ्क्रमितको उपचारका लागि म्यालपोखरीमा १० शय्याको अस्थायी कोभिड–१९ विशेष अस्पताल बनाइएको छ। अस्पतालमा तीन अक्सिजन प्लान्ट र छ अक्सिजन सिलिण्डर छन्। पालिकाले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालबाटै कोरोना जितेको जिल्लामा पहिलोपटक हो ।
प्रतिक्रिया