१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

२२ सांसदसहित १६० जनामा कोरोना संक्रमण



काठमाडौं ।

संघीय संसदका २२ जना सांसदसहित १ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ। आगामी सोमबार बस्ने प्रतिनिधिसभा बैठकलाई मध्यनजर गर्दै यही २२ देखि २४ गतेसम्म गरिएको स्वाब संकलनबाट ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो।

यसअघि नै दुईजना मन्त्रीसहित आठजना सांसदहरू सङ्क्रमण भएर आइसोलेशनमा थिए। बहालवाला मन्त्रीहरू भानुभक्त ढकाल र जुली महतोले आफू संक्रमित भएको जानकारी दिइसकेका छन्।
संसद सचिवालयका अनुसार सबैभन्दा धेरै सत्ताधारी नेकपा एमालेका १४ जना सांसदलाई सङ्क्रमण पुष्टि भएको छ भने जनता समाजवादी पार्टीका ४ जना, नेपाली काँग्रेसको २ जना र माओवादी केन्द्रका दुई जना सांसद सङ्क्रमित छन्। एमालेका सङ्क्रमितमध्ये दुईजना मन्त्री र एकजना पूर्वप्रधानमन्त्री समेत रहेको सचिवालयले जनाएको छ।
संक्रमित हुनेमा एमालेबाट मुकुन्द न्यौपाने, मायाँ न्यौपाने, लालबाबु पण्डित, राजेन्द्र गौतम, नन्दलाल रोका क्षेत्री, गोपाल बम, शान्ति पाख्रिन, बिना कुमारी श्रेष्ठ, जुली महतो, रघुबीर महासेठ, किसान श्रेष्ठ, पुष्पकुमारी कर्ण, झलनाथ खनाल, भानुभक्त ढकाल छन्।

यस्तै जनता समाजवादीबाट लक्ष्मणलाल कर्ण, रेनुका गुरूङ, रामबाबु यादव र नरमाया ढकाल छन्। यस्तै नेपाली कांग्रेसबाट पार्वती डिसी चौधरी र नमिता चौधरी छन्। यस्तै माओवादी केन्द्रबाट बिना मगर र शुरेश राई छन्।
२ सय ५ जना सांसद र सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी गरी १ हजार २ सय ३४ जनाको कोरोना परीक्षण गरिएको थियो।

प्रकाशित मिति : २५ बैशाख २०७८ शनिबार ००:००  ४ : ११ बजे