काठमाडौं ।
वाग्मती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपचुनावको लागि आज उम्मेदवारको मनोनयन हुँदैछ । हेटौँडामा खोलिएको निर्वाचन आयोगको कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
एमाले प्रवेश गरेका रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि पद रिक्त छ । माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेको माधव नेपाल पक्षले सङ्घीयता विज्ञ डाक्टर खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छ। एमालेको ओली समूहले भने रामबहादुर थापालाई नै उम्मेदवार बनाउने भने पनि टुङ्गो लगाएको छैन।
एमालेको ओली बाहेकका दल र माधव नेपाल पक्ष एकैतिर हुँदा आफू पराजित हुन सक्ने भन्दै थापाले उम्मेदवारी दिन रुची देखाउनुभएको छैन् । तर ओली पक्षले भने माधव नेपाल पक्षको मत पनि आउने भन्दै थापालाई नै फकाउने कोशिस गरिरहेको छ ।
वाग्मतीमा हुने राष्ट्रियसभा उपचुनावमा एक सय १० जना प्रदेशसभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख दुई सय ३८ गरेर तीन सय ४८ मतदाता रहेका छन् । प्रदेशसभाका एक जना सदस्यको ४८ र पालिकाका प्रतिनिधिको १८ मतभार गणना हुने व्यवस्था छ ।
प्रतिक्रिया