१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

लुम्बिनीमा कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न विपक्षी दलहरुको माग



कपिलवस्तु ।
लुम्बिनी प्रदेशका विपक्षी दलहरुले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रासद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरिनुपर्ने माग गरेका छन् ।

विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चाले केसीको पक्षमा ४१ सांसद रहेकाले उनलाई नै मुख्यमन्त्री नियुक्त गरिनुपर्ने माग गरेका हुन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती, कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खान तथा सचेतक निर्मला क्षेत्री, जसपा प्रमुख सचेतक पुर्मती ढेंगा मगर र जनमोर्चाको संसदीय दलका नेता तारा जिसीको हस्ताक्षरसहित जारी विज्ञप्तीमा पुनस् मुख्यमन्त्रीको शपथ ग्रहण गरेका शंकर पोखरेललाई राजीनामा दिन माग गरिएको छ।

केसीका पक्षमा ४१ जना सांसदको समर्थन रहेको भन्दै १९ गते नै प्रदेश प्रमुख धर्मनाथ यादवलाई पत्र बुझाइएको भन्दै पोखरेललाई पुनस् मुख्यमन्त्रीमा नियुक्त गरिनु संविधान विपरीत भएको विपक्षी दलहरुको भनाइ छ ।

‘प्रदेश मन्त्रिपरिषद् गठन गर्ने संविधानिक कानुन र नियमको पालना गर्दै अवैधानिक मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा, तत्काल प्रदेश सभा बैठकको आह्वान र गठबन्धन दलको नेता माननीय कुलप्रसाद केसीलाई मुख्यमन्त्री पदमा नियुक्त गरी प्रदेश मन्त्रिपरिषद गठन गर्न प्रदेश प्रमुख समक्ष जोडदार माग गर्दछौ’, ४ दलको संयुक्त विज्ञप्तीमा भनिएको छ।

प्रदेश सभामा रहेका ७९ जना सांसद मध्ये ४० सांसद भए सरकार बन्ने अवस्था छ। केसीको पक्षमा कांग्रेसका १९, माओवादी केन्द्रका १९, जसपा २ र जनमोर्चा १ गरी ४१ सांसद भएकाले अल्पमतमा रहेका पोखरेलले मुख्यमन्त्रीको सपथ खानु राज्य शक्तिको दुरुपयोग भएको विपक्षी दलहरुको भनाइ छ।

आफू अल्पमतमा छु भन्ने थाहा पाउँदा पाउँदै पोखरेले सपथ लिनु पदलोलुपता, अराजनीतिक र निरकुशं कदम मात्रै नभएर वैचारिक, राजनीतिक नियत खराव रहेको विपक्षी दलहरुको आरोप छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८ बिहिबार ००:००  ३ : ५४ बजे