१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक सुरू



काठमाडौ ।
नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बसेको छ।

बिहीबार बिहान १० बजेका लागि बैठक बोलाइए पनि ११ बजेपछि बैठक सुरू भएको थियो।

एमालेमा १९ जना स्थायी कमिटी सदस्य छन्। नेता झलनाथ खनाल र माधव नेपाल पक्षविनै ओलीले केही समयअगाडि स्थायी कमिटी गठन गरेका थिए।

आज बसेको स्थायी कमिटीले राष्ट्रिय सभाको उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मदवार तय गर्ने सम्भावना छ। बागमती र लुम्बिनी प्रदेशमा एकेक पद रिक्त छ। त्यसका लागि जेठ ६ र १७ गते उपनिर्वाचन तोकिएको छ।

साथै प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिन लागेका छन्।

त्यसअघि ओलीसहित एमाले नेताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग बुधबार बुढानिलकण्ठ पुगेर विश्वासको मत मागेका थिए। तर कांग्रेसले विश्वासको मत दिन नसकिने प्रष्ट बताएको छ।

प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत लिन नसके अरूले बहुमतको सरकार बनाउने अवस्था पनि नरहने भन्दै चुनावमा जानुपर्ने तर्क अगाडि सारिरहेका छन्।

यी समग्र राजनीतिक घटनाक्रमबारे आज स्थायी कमिटी बैठकमा छलफल हुने सम्भावना रहेको एक स्थायी कमिटी सदस्यले बताए। आज बैठकका एजेन्डाबारे पूर्ववत रूपमा जानकारी दिइएको थिएन।

प्रकाशित मिति : २३ बैशाख २०७८ बिहिबार ००:००  ११ : २७ बजे