बुटवल ।
२०७६ पुस ५ गते तामझामका साथ बुटवल उपमहानगरपालिकालाई सडक मानवमुक्त उपमहानगर घोषणा गरियो। सबैका लागि खाना, सबैका लागि नाना र सबैका लागि छानाु भन्ने नाराका साथ सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको बुटवलको सडकमा तीन दिनसम्म छट्पटाउँदै एक व्यक्तिले ज्यान गुमाएका छन्। बुटवल उपमहानगरपालिका-९ इँटाभट्टीस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कम्पाउन्ड वालबाहिर सडकछेउमा तीन दिनसम्म ती व्यक्तिले छटपटाएर प्राण त्यागेका हुन्।
अस्पतालको पछाडितर्फको कम्पाउन्ड वालबाहिर निर्माणाधीन सडक किनारमा पिपलको बोट छ। त्यही पिपलको बोटमूनि बुधबार बिहानै अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको हो। उनी को थिए, कहाँबाट आएर त्यहाँ बस्न पुगे स्थानीयले पनि पत्तो पाएनन्। सोमबारदेखि सडक किनारमै पल्टिएका उनको बुधबार बिहान स्थानीयले हेर्दा मृत्यु भइसकेको थियो। पहिचान नखुलेको भए पनि आफ्नो जीवनको अन्तिम समयमा उनी सडक मानवमुक्त घोषणा गरिएको बुटवलमा आएका थिए।
तीन दिनसम्म सडकमै छटपटिए पनि न त कम्पाउन्डभित्रको लुम्बिनी प्रादेशिक अस्पतालले सुइको पायो, न त सडक मानवको उद्धारकर्ता र अभिभावक बनिरहेको मानव सेवा आश्रम र बुटवल उपमहानगरपालिकाले नै थाहा पायो। मुस्किलले आफू पल्टिन मिल्ने कालो पिपी फर्म र निलो प्लाष्टिक बोकेर आएका उनको त्यही पिपी फर्ममै छटपटिएरै मृत्यु भयो।
कोरोना नियन्त्रणको लागि बुटवलमा निषेधाज्ञा लागु गरिएको भए पनि बुटवलदेखि योगिकुटीसम्मको यो सडक अरू सडकभन्दा मानिसको बढी भिड हुने क्षेत्र हो।घटनास्थलभन्दा दुई सय मिटरकै दूरीमा लुम्बिनी प्रदेश सभा सचिवालय छ। यही बाटो भएर दैनिक सयौं व्यक्ति कोरोना महामारीका बीच पनि ओहोरदोहोर गर्छन्। तर उनको उद्धार गर्ने त्यहाँ कोही पुग्न सकेनन्।
घटनास्थलनजिकै घर भाडा लिएर बस्ने तारा घर्तीले अपरिचित भए पनि छटपटाइरहेको एक व्यक्तिको लागि तीन दिनसम्म वडा कार्यालय, प्रहरी, अस्पताल सबैलाई गुहार मागे पनि उद्धार गर्न नसकिएको बताए।
मंगलबार बिहान र रातभरि बुटवलमा पानी परिरहेको थियो। उनी पानी पर्दा पनि सडकमै पल्टिरहेका थिए। ‘अलिअलि निल्न सक्ने बेलासम्म त दालको रस, बिस्कुट र पानी भए पनि लगेर खान दियौं, पछि त उठ्नै नसक्ने भए, घर्तीले भने।’ घर्तीले ९ नम्बर वडा कार्यालय, मानस सेवा आश्रम र लुम्बिनी प्रादेशिक अस्पताललाई पनि पटकपटक उद्धार गर्न गुहार मागे पनि कसैले वास्ता नगरेको बताए।
अस्पतालले बेड खाली छैन भन्यो, आफन्त कोही नभएको व्यक्तिलाई कसले जिम्मा लिन्छ भनेर लैजान मानेन,उनले भने।मंगलबार राति पानी परिरहेपछि प्लाष्टिक ओढाइदिएर आएको र बुधबार बिहानै गएर हेर्दा मृत्यु भइसकेको उनले बताए।राती ९ बजे गएर हेर्यौं, सानो स्वरमा कमला भनिरहेका थिए, बिहानै ५ बजे गएर हेर्दा सास बन्द भइसकेको थियो,घर्तीले भने।
लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेको प्रहरी बिटका प्रहरी जवान सन्तोष भण्डारीले सोमबारदेखि नै अस्पतालमा लैजाने प्रयास गरे पनि नसकिएको बताए।बेड नभए पनि भुइँमै राखेर भए पनि उपचार गर्न सकिन्छ की भनेर म आफैंले ट्रली लिएर समेत आएको थिएँ, उठाउन सकिएन, उनले भने।
अस्पतालको निकासतर्फको गेटमै पल्टिएका उनले जिवित छँदा भित्र प्रवेश नपाए पनि मृत्युपछि भने यही गेटबाट शवगृहमा स्थान पाएका छन्। बुधबार उनको शवलाई अस्पतालको शवगृहमा राखिएको भण्डारीले बताए।
बुटवल- ९ का वडा अध्यक्ष विष्णुबहादुर थापाले मंगलबार बेवारिसे व्यक्ति सडकमा अचेत अवस्थामा पल्टिएको थाहा पाएपछि वडा प्रहरी कार्यालयलाई उद्धारको लागि आग्रह गरिएको जानकारी दिए।
मैले पनि मंगलबार दिउँसो थाहा पाएको थियो, प्रहरीलाई जानकारी गराएर हामी कोभिडका बिरामी व्यवस्थापनमा खटिइरहेका थियौं, बुधबार बिहानै सडकमै उनको मृत्यु भएको जानकारी पाउँदा दुस्ख लाग्यो,वडाध्यक्ष थापाले भने।
प्रतिक्रिया