केपी पौडेल, कपिलवस्तु ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा न्यूनीकरणका लागि कार्य गर्ने उद्देश्यले कपिलवस्तुको बाणगंगामा बाणगंगा स्तरीय कोरोना प्रकोप व्यवस्थापन सहयोग समिति गठन गरिएको छ ।
बुधबार सिद्धार्थ सामाजिक विकास केन्द्रमा बाणगंगा नगरका विभिन्न संघ–संस्थाका प्रतिनिधि सम्मिलित बैठकले समितिको संयोजकमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेलाई चयन गरेको छ ।
घिमिरेले बाणगंगा नगरपालिकामा रहेका विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी दु्रत गतिमा काम गर्ने बताउँदै नेपालमा कोरोनाको दोस्रो लहर फैलिन सुरु गरेको र निकट भविष्यमा तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गरी सहयोग समितिले सवै निकायसंग समन्वय गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
समितिको सह संयोजक तेज प्रसाद आचार्यले कोरोना महामारीमा गतवर्ष पनि कपिलवस्तु र लुम्बिनी प्रदेशमै महत्वपूर्ण सहयोग गरिरहेको जानकारी दिनुभयो । सहयोग समितिले अक्सीजन बैंक स्थापना, अत्यावश्यक औषधि तथा उपकरण व्यवस्थापन, कार्यविधि तयार लगायतका कार्य गर्ने समितिका सचिव एवम् लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो । गठित ९ सदस्यीय सहयोग समितिको कोषाध्यक्षमा भिमकान्त भट्टराई, सदस्यहरुमा पोमनारायण पौडेल, विष्णु प्रसाद न्यौपाने, कोपिल पौडेल, सुन्दर आचार्य र हरि अधिकारी रहनु भएको छ ।
समितिका सह–संयोजक एवम् सिद्धार्थ सामजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यले नेपालमा अहिले कोरोनाको दोस्रो लहर सुरु भएकोेले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै आफ्नो नगरमा हामीले केही गर्नुपर्छ भन्ने उद्देश्यले सबैको सहयोग र पहलमा समिति गठन भएको बताउनभुयो ।
समितिका सदस्य एवम् नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका उपाध्यक्ष हरि अधिकारीले मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा अहिले पुष्टि भएका संक्रमितहरू विभिन्न उमेर समूहका मध्ये २० वर्षदेखि ४९ वर्षसम्मका मानिसको संख्या करिब ६६ प्रतिशत रहेको र दिन प्रतिदिन कोरोना पोजेटिभ हुनेहरुको संख्या र मृत्युदर पनि बढ्दै गएकोले सबैले विशेष सर्तकता अपनाउन आग्रह गर्नुभयो । अधिकारीले अहिलेको विपद्ले नेपालमा सार्वजनिक स्वास्थ्य प्रणालीमा सरकारी लगानीको अवस्था कति कमजोर रहेछ र त्यो कति बेवास्ताको सिकार भएको रहेछ भन्ने पनि राम्ररी उजागर गरेको बताउँदै बाणगंगा नगरमा गठन गरिएको सहयोग समितिले महत्वपूर्ण कार्य गर्ने आफूले अपेक्षा गरेको बताउनुभयो ।
त्यस्तै सहयोग समितिले कपिलवस्तु जेसीजमा अक्सिजन बैंक स्थापना र आवश्यक व्यवस्थापन गर्न ३ सदस्यीय उप–समिति गठन गरेको छ । जसको संयोजक रमेश चन्द्र भुसाल र सदस्यहरुमा सुरेन्द्र घिमिरे र भिमकान्त भट्टराई रहनु भएको छ । यसैगरी प्रकोप व्यवस्थापन सहयोग समितिको कार्यविधि तयार गर्न ३ सदस्यीय उप–समिति गठन गरेको छ । जसको संयोजकमा सामाजिक अभियन्ता पोमनारायण पौडेल र सदस्यहरुमा अर्जुन प्रसाद पोख्रेल, रमेशचन्द्र भुसाल रहनु भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरको खतरा नेपालमा पनि तड्कारो देखा परेको छ । छिटो संक्रमण फैलिने र कम उमेरका व्यक्तिहरुमा पनि जटिलता हुन सक्ने हुँदा बाणगंगा नगरमा गठन गरिएको बाणगंगा स्तरीय कोरोना प्रकोप व्यवस्थापन समितिले नगरमा विशेष महत्वपूर्ण कार्य गर्ने अपेक्षा लिइएको समितिका सदस्य पोमनारायण पौडेलले बताउनुभयो ।
प्रतिक्रिया