१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

ओलीले विश्वासको मत मागेपछि देउवाले ठाडै भनिदिए ‘दिदैनौँ’



काठमाण्डौँ ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ‌ओलीले नेपाली कांग्रेससँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्।

आज सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेर प्रधानमन्त्री ओलीले वैशाख २७ मा आफूलाई विश्वासको मत दिन भनेका थिए।

तर सभापति देउवाले विश्वासको मत दिन नसकिने प्रष्ट पारेका छन्।उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, नेता सुवास नेम्वाङसहित बुढानिलकण्ठ पुगेका ओलीले कांग्रेस नेताहरूसँग एक घण्टा छलफल गरेका थिए।

छलफलमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री प्रकाशशरण महत थिए।

छलफल सकेपछि पत्रकारहरूसँगको कुराकानीमा सहमहामन्त्री महतले प्रधानमन्त्री ओलीले विश्वासको मत मागेको बताए। तर सहयोग गर्न नसकिने जवाफ दिइएको उनको भनाइ छ।

विश्वासको मत दिन प्रधानमन्त्रीले आग्रह गरे पनि सरकारले असंवैधानिक काम गरेकोले समर्थन गर्न नसकिने कांग्रेसको भनाइ थियो। आफूहरू विपक्षी पार्टी भएकोले पनि ठाडै समर्थन गर्न नसक्ने जवाफ सभापति देउवाले दिएको महत बताउँछन्।

‘प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा राख्नुभएको छ। त्यसमा सहयोग गर्न नसक्ने स्पष्ट कुरा हामीले राख्यौं,’ महतले भने, ‘तपाईंलाई विश्वासको मत दिन सक्ने अवस्था छैन। सत्ता साझेदारी हामीले गर्न सक्ने अवस्था छैन। यो सम्भव छैन।’

उक्त बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेससँग सहकार्य प्रस्ताव पनि राखेका थिए। लामो समयदेखि कांग्रेस र एमाले लोकतन्त्रका लागि सँगै लड्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्य र मान्यताका लागि सहकार्य गर्नुपर्ने बताएका थिए।

प्रकाशित मिति : २२ बैशाख २०७८ बुधबार ००:००  ६ : ५१ बजे