मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बोडगाउँ-मुर्मि-भलवाड जोड्ने कोइली खोलाको पुलको बुधबार ढलान गरिएको छ ।
वाणगंगा नगरपालिकाको वडा नं. ९ र ८ लाई जोड्ने महत्वपूर्ण यो पुलको बुधबार ढलान गरिएको हो । पक्की पुल नहुँदा दुई वडाका जनता बर्षौसम्म काठे पुलको माध्यमबाट आवातजावत गर्दै आएका थिए ।
पञ्चायत कालमा हरि नारायण रजौरियाले यो पुल बनाउने भन्दै यस क्षेत्रमा भोट माग्ने गरेको स्थानीय सम्झिन्छन् । पञ्चायत पछिको बहुदल हुँदै देश गणतन्त्रमा प्रवेश गर्दा समेत पुल बनेको थिएन ।
तर लुम्बिनी प्रदेशमा यस क्षेत्रबाट निर्वाचित विष्णु पन्थीको अथक पहलले पुल बन्न लागेको हो । सांसद पन्थीको पटक पटकको प्रयासले तत्कालिन लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीलाई स्थलगत निरिक्षण गराएर पुलको महत्व बुझाए पछि प्रदेश सरकारले तत्काल बजेट हालेको थियो ।
यो पनि… मोर्मी कोइला खोलाको भौतिक पूर्वाधार मन्त्री चौधरीद्धारा निरिक्षण, आवश्यक बजेट दिने बचन
प्रदेशबाट बजेट विनियोजन भएपछि ०७५ सालमा डिपिआर निर्माण गरेर ०७८ सालबाट पुल निर्माण थालिएको हो ।
गत बर्षको कोरोना महामारी र बर्खाको कारणले काममा प्रभाव परेपनि यो बर्ष दु्रत गतिमा काम भएको छ । महेश निर्माण सेवाले बनाउन लागेको पुलको लागत झण्डै ४ करोड रहेको छ ।
पुल ढलानको बुधबार प्रदेश सांसद पन्थीले निरिक्षण गर्नुभएको थियो । पुल निरिक्षण पछि सांसद पन्थीले पुल निर्माण पछि दुई वडाका जनता आवातजावत गर्न सहज हुने बताउनुभयो । यसै बर्ष काम सकिने भन्दै उहाँले दशकौ देखिको जनताको माग पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।
पुल निर्माण संगै कोइला खोलामा ड्याम निर्माण गरी पानीको भण्डारण गर्न तर्फ सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । पानी भण्डारण पछि सिंचाई सुविधा पुग्ने भएकाले माछापालनबाट पनि राम्रो आयआर्जन गर्न सकिने सम्भावना रहेको भन्दै यता तर्फ सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
ढलान गरेको पुल बाढीले झण्डै बगाएन
गएको अशोज यता बर्षात नभैरहेको अवस्थामा राति र विहान यस क्षेत्रमा ठूलो पानी परेको छ । बुधबार पुल ढलान गर्ने तयारी भैरहेको बेला बर्षात भएपनि खोलामा बाढी आएको थियो । खोलामा आएको बाढीले पुललाई झण्डै बगाएको स्थानीयले बताएका छन् । अझै केहीबेर बर्षात भएको भए पुल बगाउने स्थानीयले बताए ।
र यो पनि
प्रतिक्रिया